ओखलढुंगा । ओखलढुंगाको सिद्विचरण नगरपालिकामा नेपाली कांग्रेसले ५ हजारका दरले भोट किनेर चुनाव जित्ने रणनिती बनाएको खुलासा भएको छ ।
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन जित्न मतदातालाई कांग्रेसका उम्मेदवारले १ भोट बराबर ५ हजार पैसाको प्रलोभन देखाएको प्रमाण फेलापरेको हो ।
माओवादीसँगको तालमेलले पनि चुनाव नजित्ने परिस्थिति बनेपछि कांग्रेसका उम्मेदवार खुलेआम भोट किन्न लागिपरेका छन् । वडा नम्बर ११ का कांग्रेसका वडाअध्यक्षका प्रत्याशी उम्मेदवार विनोद ताम्राकार बजारक्षेत्रमा भोट किन्न सकृय भएको भिजनलाई प्राप्त अडियोले पुष्ट्याईँ गरेको छ । उक्त अडियोमा कांग्रेसका उम्मेदवार ताम्राकारले भने अनुसार कांग्रेसले १ भोट बराबर ५ हजार र ५० भोट भन्दा बढी भोटको ग्यारेन्टी गर्नेलाई १ लाख सम्म दिने भएको छ ।
सत्ताको दुरुपयोग गर्दै सेटिङ्ग गरेर नक्कली मतपत्रको चलखेल समेत गर्ने रणनीति बनाएको अडियोमा सुन्न सकिन्छ । प्रहरी र निर्वाचन अधिकृतलाई समेत झुक्काएर गरी नक्कली मतपत्र मार्फत मतदान गर्न भनिएको छ । त्यस्तो मत समेत बदर हुन नदिने ताम्राकार बताउँछन् । भोटको ग्यारेन्टी गर्नेलाई अग्रिम रकम दिने उनको भनाइ छ ।
भोट किन्न वडाअध्यक्षका उम्मेदवार विनोद ताम्रकारले मतदातासँग गरेको वार्गेनिङ्गको यो अडियो सुन्नुहोस् ।
५ हजार गोटा भोट किन्न लागिपरेका वडाअध्यक्षका उम्मेदवार ताम्राकार कांग्रेसका कोषाध्यक्ष हुन् । जिल्ला सभापति तेजेन्द्र खनाल सिद्विचणको मेयरका उम्मेदवार छन् ।
सभापति नै उम्मेदवार भएकाले जसरी पनि चुनाव जिताउनुपर्ने भएकाले भोट किन्नुपर्ने निचोडमा पुगेर खुलेआम पैसाको अफर गर्न नेताहरु लागेको अर्को अडियो पनि प्राप्त भएको छ । टिकट वितरण गर्दा कार्यकर्ताबाट मोटो रकम लिएको आरोप लागेको कांग्रेस नेतृत्व सभापति र कोषाध्यक्षसहितका नेता उम्मेदवारलाई मेयर र वडामा चुनाव जिताउन मतदाता किन्न लागेको विषयले थप आलोचित भएको छ ।
आफु निर्वाचित भए सेवा सुविधा नलिने र भ्रष्टचार गर्नु आमाको रगत खानु सरह हो भन्दै चुनावी अभियान चलाएका ताम्रकार आफैं भोट किन्न लागि परेका छन् ।