ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा आश्रचन राई विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसको समर्थनमा धारा चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका रुम्दाली र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राई एमाले–जसपा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका हुन् ।
अध्यक्षमा निर्वाचित रुम्दालीले नेकपा एमालेका उम्मेदवारलाई १ हजार २ सय ६ मत अन्तरले पराजित गर्दै विजयी भएका छन् । रुम्दाली ५ हजार २१ मत प्राप्त गरेर विजयी हुँदा उनका निटतम प्रतिद्वोन्दी एमालेका रुपलाल तामाङले ३ हजार ८ सय १५ मत ल्याएका थिए ।
उपाध्यक्षमा निटतम प्रतिद्वोन्दी जसपाका दीपेन्द्र रुम्दालीलाई २ हजार १ सय ७३ मत अन्तर पराजित गर्दै राई ४ हजार ७ सय ५० मत प्राप्त गरेर विजयी भएका छन् । उपाध्यक्षमा रुम्दालीले २ हजार ५ सय ७७ मत ल्याएका छन् ।
मानेभञ्ज्याङमा एमाले र जसपाले तालमेल गरेका थिए । भने अध्यक्षमा कांग्रसले स्वतन्त्रलाई सघाएको थियो ।
मानेभञ्ज्याङ गाउँपालिका नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडा र नेकपा एमालेका केन्द्रीय सदस्य किशोर अधिकारीको बसोबास रहेको पालिका हो । यहाँका ९ मध्ये ७ वडामा कांग्रेस र २ वटा वडामा एमालेले जितेको छ ।
नेपाली काँग्रेसबाट वडा नं.१ मा राजकुमार रुम्दाली, वडा नं.२ मा राममणी राई, वडा नं.४ विष्णु तामाङ्ग, वडा नं. ५ मा रामकुमार राई, वडा नं. ६ मा हेमराज राई, वडा नं.७ विष्णु प्रसाद गौतम, वडा नं.८ मा भिम बलाम्पाकी मगरले जितेका छन् ।
नेकपा एमालेबाट वडा नं.९ मा पूर्णबहादुर मगर र वडा नं.३ मा जितेन्द्र राईले जितेका छन् ।
२०७४ को निर्वाचनमा गाउँपालिका अध्यक्ष उपाध्यक्ष सहित ७ वडामा कांग्रेस, एउटा वडामा माओवादी र एउटा वडामा एमालेका उम्मेदवार विजयी भएका थिए ।












