२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसका गढ भत्कियो ‘खिजीदेम्बाको अध्यक्षमा जसपाका गम्बु शेर्पा विजयी




ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका अध्यक्षमा जसपाका गम्बु शेर्पा विजयी भएका छन् । नेपाली कांग्रेसको गढ मानिने खिजीदेम्बामा जनता समाजवादीका उम्मेदवार शेर्पाले कांग्रेसका भूपेन्द्र बस्नेतलाई १३० मतान्तरले पराजित गरेका हुन् ।

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप सुनुवारको पालिका खिजीदेम्बामा जसपाका शेर्पा २८८२ मत ल्याएर विजयी भए । कांग्रेसका बस्नेतले २७५२ मत ल्याए । एमालेका रामबहादुर खत्रीले १७१५ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसकी सुशिला तामाङ विजयी भएकी छिन् । उनि २८२४ मत ल्याएर विजयी हुँदा जसपाको उम्मेदवारले २२४१ र एमालेको उम्मेदारका पक्षमा १७१५ मत खसेको निर्वाचन अधिकृत विष्णुहरि बरालले जानकारी दिए ।

खिजीदेम्बा नेपाली कांग्रेसको गढ मानिन्छ । दुई पूर्व जिल्ला सभापति महेश कोर्मोचा र प्रदीप सुनुवारको क्षेत्र भएकाले यहाँ कांग्रेसको संगठन बलियो थियो । २०७४ को स्थानीय निर्वाचनमा अध्यक्ष उपाध्यक्षसहित बहुमत सिटमा कांग्रेसले जितेको थियो ।

९ वटा वडा रहेको खिजीदेम्बाका ७ वडा कांग्रेस र २ वटा वडा जसपाले जितेको छ । कांग्रेसबाट वडानम्बर २ मा सुरेन्द्रशंकर घिमिरे, वडानम्बर ३ मा टंकराज सुनुवार, वडानम्बर ४ मा होमबहादुर सुनुवार, ५ मा राम सुनुवार, ७ मा डिल्लीराम बस्नेत, ८ मा नगेन्द्र बस्नेत र वडानम्बर ९ मा ङवाङफुरी शेर्पा विजयी भएका छन् ।

जसपाबाट वडानम्बर १ मा कुमार सुनुवार र ६ मा पासाङनिमा शेर्पाको प्यानल विजयी भएको छ ।

खिजीदेम्बामा एमालेले जम्मा १ जना वडासदस्य जितेको छ । वडा नम्बर २ मा १ सदस्य जितेको हो ।
२०७४ को निर्वाचनमा एमालेले ४ वटा वडा अध्यक्षसहित १७ पदाधिकारी जितेको थियो ।

करिब १८ महिना यता निरन्तर संगठन गरेका शेर्पाले पुराना र ठुला भनिएका दलहरुलाई पराजित गरेर जसपाको जित निकालेका छन् । शेर्पा चीन, अमेरिका लगायतका देशमा बसेर नेपाल फर्किएपछि राजनीतिमा लागेका हुन् ।

गायन क्षेत्रमा समेत राम्रो पहिचान बनाएका उनी खिजीदेम्बा गाउँपालिका ६ का स्थायी बासिन्दा हुन् ।
केही समय अघि मात्रै उनले अमेरिकको नागरिकता त्यागेका थिए ।

प्रकाशित मिति : २०७९, ३ जेठ मंगलबार ००:००  १२ : ०६ बजे