२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नक्कली सभामुख कलाकार कल्याण राईले वडाअध्यक्षमा ११३ मत पाए



ओखलढुंगा । रुम्जाटारको वडाअध्यक्षका स्वतन्त्र उम्मेदवार कलाकार कल्याण राईले ११३ मत ल्याएका छन् । बैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा सिद्धिचरण नगरपालिका ४ को वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेका कलाकार राईले ११३ मत ल्याएका हुन् ।

चुनाव चिन्ह धारा लिएर चुनावी मैदानमा होम्मीएका राईले एमालेको गढ रुम्जाटारमा तेस्रो भोट ल्याए । एमालेका रत्नबहादुर गुरुङ ७६१ ल्याएर विजयी हुँदा कांग्रेसका उम्मेदवारको पक्षमा ३०७ मत झरेको थियो । राईले तेस्रो मत ११३ ल्याएका छन् भने राप्रपाका उम्मेदवारले ४४ र एकीकृत समाजवादीका उम्मेदवारले १९ मत ल्याएका छन् ।

चुनावी अभियानमा १६ हजार खर्च भएको र स्वतन्त्रमा सन्तोषजनक मत आएको राईले बताए । ‘जीवनमा धेरै राजनीतिक दलहरुको कार्यक्रममा गीत गाएर हिँडियो ।’ उनले भने, ‘सँधै नेताहरुले कलाकारलाई आफ्नो प्रयोग गर्ने पात्रको रुपमा मात्र हेर्दा रहेछन् ।

कलाकार यही समाजबाट संघर्ष गरेर आएका हुन् । उनीहरुले पनि समाजसेवा गर्छन् भन्ने भावना कसैमा देखिएन । त्यसपछि म आफै किन उम्मेद्वार नबन्ने भनेर वडाअध्यक्षमा स्वतन्त्र रुपले मनोनयन दर्ता गरेको थिएँ । वडाबासीले सम्मानजनक मत दिनुभयो सबैलाई धन्यवाद छ ।’ कलाकारिताको माध्यमबाट पहिचान बनाएकाले आफु कुनैदलको झण्डामुनी बसेर तत्काल राजनीति नगर्ने उनले बताए ।

लोकगायकका रुपमा चिनिने उनले कुनैबेला ‘मेरी बास्सै’ टेलिसिरियलमा तत्कालीन सभामुख सुवास नेम्बाङको क्यारिकेचर गरेर कलाकारितामा सभामुखको भूमिकाले चिनिएका थिए । उनले दर्जनौं चलचित्र, टेलिसिरियल, म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

हाल ‘सिंहदरबार’ नामक टेलिसिरियलमा मूख्य सचिवको भूमिकामा छन् ।

अब रुम्जाटारमै बसेर सामाजिक काम गर्ने उनको योजना छ ।

प्रकाशित मिति : २०७९, ३ जेठ मंगलबार ००:००  १ : २९ बजे