भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले नगरबासीहरुका लागि स्वास्थ्य सेवामा १५ प्रतिशत छुट दिने भएको छ । सोमबार पद तथा गोपनियताको सपथ ग्रहण पछि पदबहाली गर्दै नगरप्रमुख बासुदेव थापाले नगर अस्पतालमा नगरबासीले सेवा लिदा लाग्ने शुल्कमा १५ प्रतिशत छुट दिने निर्णय गरेका हुन ।
पदबहाली पश्चात अनलाईनसरोकार डटकमसंग कुरा गर्दै नगरप्रमुख थापाले स्वास्थ्य तथा शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर अघि बढ्ने प्रतिबद्धता जनाए । उनले अघिल्लो कार्यकालमा भौतिक विकासको क्षेत्रमा घोषणा पत्रमा भनिएभन्दा बढी काम गरेको उल्लेख गर्दै अबको दिनमा अपूरा र थप रचनात्मक कामहरु गर्ने बताए ।
नगरप्रमुख थापाले जनताले दिएको अत्यधिक मतलाई दोस्रो कार्यकालमा खेर जान नदिने बताउदै साच्चै समृद्ध नगरपालिका निर्माण गर्न सबैको साथ आवश्यक रहेको बताए । थापाले सूर्यविनायक नगरपालिका उपत्यकाको नमुना नगरपालिका बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।
नगरपालिकामा मेयर, उपमेयर, वडाध्यक्ष, वडा सदस्य सहित नवनिर्वाचित ५२ जना जनप्रतिनिधिहरुले पद तथा गोपनीयताको सपथ लिएका थिए ।












