काठमाडौं। ईलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतको शौचालयमा एक थुनुवा मृत फेला परेका छन् । जबरजस्ती करणी उद्योगमा हिरासतमा रहेका कोहलपुर– १२ का ४६ वर्षीय कृष्णलाल कुँवर मृत फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका ईन्चार्ज समेत रहेका प्रहरी नायव उपरीक्षक ऐनबहादुर मल्लले बुधबार बिहान करीब ५ बजेतिर कुँवर हिरासतको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए ।
उनले भने, ‘हिरासत कक्षबाट ट्वाइलेट गएका कुँवर टवाइलेटको भ्यान्टिलेटरमा टिसर्टको पासो घाँटीमा लगाएर मृत्युवरण गरेको अवस्थामा भेटिएका हुन् ।’ मृतक कुँवरलाई प्रहरीले गत १९ वैशाखमा ७ वर्षे नाबालिकालाई जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा नियन्त्रणमा लिएर म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको थियो ।
स्थानीय र आफन्तको रोहबरमा आवश्यक मुचुल्का तयार गरी मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।