काठमाडौं। भारतको राजस्थानस्थित एक गाउँको एउटै घरमा बिहे भएका तीन दिदी–बहिनी र उनीहरुका दुई बच्चा गरी पाँच जना मृत फेला परेका छन् ।
दाइजोका कारण घरका सदस्यबाट दिनहुँ यातना पाएपछि उनीहरुले सामूहिक आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको टाइम्स अफ इण्डियाले उल्लेख गरेको छ ।
मृत्यु हुनेमा २७ वर्षीया कालु मिणा, २३ वर्षीया ममता मिणा, २० वर्षीया कमलेश मिणा छन् । उनीहरुसँगै एकजना शिशु र एकजना चार वर्षीय बच्चाको पनि शव फेला परेको छ । ममता र कमलेश गर्भवती थिए ।
ती तीन दिदी–बहिनीको बिहे एउटै परिवारमा भएको थियो । उनीहरुको शव शनिबार फेला परेको र शव भेटिएपछि गाउँमा त्रासको वातावरण रहेको टाइम्स अफ इण्डियाले जनाएको छ ।
समाचारमा लेखिएअनुसार मृत भेटिएका सबै पाँच जना २५ मेदेखि सम्पर्कविहीन थिए । परिवारका सदस्यहरुले उनीहरु हराएको सूचना प्रहरीलाई दिएका थिए । तर शनिबार बिहान एक इनारमा उनीहरु पाँचै जनाको शव फेला परेको थियो ।
जयपुर प्रहरीका एसपी मनिष अग्रवालका अनुसार शवमा चोटपटक लागेको नदेखिएकाले उनीहरुले सामूहिक रुपमा आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको बताएका छन् ।
तीन दिदी–बहिनीहरुमध्ये एकजनाले २५ मेको दिनमै सामाजिक सन्जालमा ‘बाँच्ने इच्छा नभएको’ लेखेकाले पनि आत्महत्या नै हुन सक्ने प्रहरीको अनुमान छ ।
ती दिदी–बहिनीहरुलाई श्रीमान र घरका अन्य सदस्यहरु मिलेर कुटपिट गर्दै आएको कारण उनीहरुले सामूहिक आत्महत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीले मृत फेला परेका तीन दिदी–बहिनीका तीनैजना श्रीमान, सासू र नन्दलाई नियन्त्रणमा लिएको छ ।
यो घटनाको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृत अशोक चौहानका अनुसार सन् २००५ मा उनीहरुको बिहे भएको थियो । तर बिहे गर्ने उमेर पूरा भएपछि मात्रै उनीहरु आ–आफ्ना श्रीमानसँग बस्न थालेका थिए ।
तर २५ मेदेखि उनीहरु सम्पर्कविहीन भएको सूचना पाएपछि प्रहरीले खोजी थालेको थियो । एसपी मनिष अग्रवालले भनेका छन्, ‘शवलाई हेर्दा प्रथम दृष्टिमै सामूहिक आत्महत्या देखिन्छ । यी महिलाहरुले आफ्ना बच्चासहित २५ मेको दिनमै इनारमा हाम फालेर आत्महत्या गरेको हुनसक्छ ।’
जयपुरका अतिरिक्त एसपी दिनेश शर्माले यो घटना दाइजोकै कारण भएको बताएका छन्