काठमाडौं। मूल्य वृद्धिको विरोधमा दाङमा तीन दिनदेखि दुई युवा अनशन बसेका छन् ।
पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा गरिएको मूल्य वृद्धिको विरोधमा लमही बसपार्क नजिकै दुई जना युवा अनशन बसेका हुन् । अनशन बस्ने लमही नगरपालिका(५ का डिल्लीराज खनाल र वडानम्बर ४ का बाबु रोका मगर हुन् ।
डिल्लीराज खनालले सरकारले मूल्य वृद्धि फिर्ता लिएमात्र आफूहरूको अनशन तोडिने बताए । ‘सरकारले गरेको मूल्य वृद्धिको विरोध अनशनबाट गर्न थालेका हौं,’ खनालले भने, ‘यो अनशन कहिले टुंगोमा पुग्छ थाहा छैन । सरकारले जहिले मूल्य वृद्धि फिर्ता गर्छ । त्यतिबेलासम्म हाम्रो आन्दोलन चलिरहन्छ ।’
लमही नगरपालिकाका प्रमखु जोगराज चौधरी र उपप्रमुख लक्ष्मी योगीसहितको टोलीले आइतबार उनीहरु समक्ष पुगेर अनशन तोड्न आग्रह गरेका छन् ।
नगरपालिकाको टोलीले अनशनरत दुई जनाको स्वास्थ्य चेकजाचसमेत गरेको छ । अहिलेसम्म स्वास्थ्य अवस्था सामान्य भए पनि अनशन नतोडिए स्वास्थ्य अवस्था गम्भीर हुँदै जाने लमही नगरपालिका स्वास्थ्य शाखा प्रमुख ठाकुर भट्टराईले बताए ।