काठमाडौं। काठमाडौं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले नेपालमा नेपालमा जहाज र हेलिकप्टर सेकेन्ड ह्यान्ड, थर्ड ह्याण्ड आउने गरेको आफूले पाएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेकपा एमालेका सांसद नारदमुनि रानाले नेपालमा जहाजहरु सेकेन्ड ह्यान्डको रङरोगन गरेर आउने गरेको आफूले सुनेको भन्दै मन्त्री आलेलाई प्रश्न गरेका थिए । उनको प्रश्न थियो, ‘नेपालमा आउने सम्पुर्ण बिमान सेकेन्ड ह्याण्ड भन्छन् के हो ।
मन्त्री आलेले जवाफ दिए, ‘हेलिकप्टर प्लेन जम्मै सेकेन्ड ह्यान्ड थर्ड ह्याण्ड आउदो रहेछ ।’ तर, मन्त्री आलेले यसबारे थप विवेचना गरेनन् ।
नेपालमा बारम्बार जहाज दुर्घटनामा पर्नुको कारण के हो भनी सांसदहरुले राखेका जिज्ञासाको जवाफ नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्रदीप अधिकारीले दिए ।
विगतमा मौसम विभागले मौसम खराब छ भनेपछि उडान निश्चित दिन र अवधिका लागि बन्द नै गर्ने अभ्यास रहेको भन्दै उनले फेरि त्यही अभ्यासमा जानुपर्ने महसुस हुन थालेको बताए । ‘मौसम विभागले भन्छ भने उडान नै बन्द गरौ । यसबारे निर्णय गर्नुपर्ने हुन्छ । यसका लागि कानुनमा सुधार गर्नुपर्ने हुन्छ’ उनले भने ।
जहाजमा दुई जना पाइलट अनिवार्य नहुनु पनि दुर्घटनाको एक कारण रहेको उनी बताउँछन् । भन्छन्, ‘पाइलट एकजना मात्रै हुन्छन् निजीमा । नेपाली सेनामा दुई जना पाइलट हुन्छ त्यसकारण कम दुर्घटना हुन्छ ।’