२०८१, १९ पुस शुक्रबार | Fri Jan 3 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आजको प्रतिनिधिसभा बैठक रोक्न एमालेको माग



काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको सोमबारको बैठक रोक्न माग गरेको छ ।

किसानले मल नपाएको विषयमा छलफल गर्न बजेटमाथिको छलफल स्थगन माग गर्दै संसदमा प्रस्ताव लगेको एमालेले उक्त प्रस्तावमाथि छलफल भएपछि स्थगित भएको बैठक पुन सञ्चालन गर्न खोज्दा रोक्न माग गरेको हो ।

एमालेको प्रस्तावमाथि सोमबार नै प्रतिनिधिसभामा २ घण्टा छलफल भएको छ । छलफलपछि आधा घण्टाका लागि स्थगित बैठक भने सुरु हुन सकेको छैन ।

संघीय संसद सचिवालयका एक अधिकारीका अनुसार एमालेको प्रतिनिधिसभा बैठक स्थगनको प्रस्तावमाथि अहिले नयाँ वानेश्वर स्थित संसद भवनमै छलफल चलिरहेको छ ।

सभामुख अग्नि प्रसाद सपाकोटाको कार्यकक्षमा जारी छलफलमा कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक र कानुन मन्त्री र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायत सहभागी छन् ।

यसअघि प्रतिनिधिसभाकै बैठकमा सत्ता पक्षका सांसदहरुले किसानका लागि रासायनिक मलको अभाव अहिलेको प्रमुख समस्या रहे पनि बजेटमाथिको छलफल नै स्थगन गर्नु ठीक नभएको बताएका थिए ।

नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठले भनेका थिए, ‘दुई तिहाइ बहुमतको सरकार हुँदा पनि मलको अभावसम्बन्धी समस्या भोग्नु परेको थियो ।’

नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले किसानले मल नपाएको विषयका लागि लागि प्रतिनिधिसभा बैठक स्थगन प्रस्ताव नै ल्याएर छलफल गर्नु उचित नभएको बताएका थिए ।

नेपाली कांग्रेसका सांसद भरत शाहले प्रतिनिधिसभाको बैठक नै स्थगित गर्दा बजेट पारित हुन नसक्ने उल्लेख गर्दै एमालेलाई प्रश्न गरेका थिए, ‘बजेट पारित नगरे मल किन्ने पैसा कहाँबाट आउँछ ’

प्रकाशित मिति : २०७९, ३० जेठ सोमबार ००:००  ४ : १५ बजे