काठमाडौं।शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले उपत्यकाको फोहोर विसर्जन केन्द्र सिसडोलमा १० शैयाको अस्पताल बनाउँने प्रक्रिया अघि बढेको बताएकी छिन् । बिहिबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले त्यसका लागि प्राविधिक टोली खटिएको जानकारी गराइन् ।
उनले भनिन्,‘स्वास्थ्य मन्त्रालयले अस्पताल बनाउनका लागि तयार पारेको मापदण्डका आधारमा १० बेडको अस्पताल यथाशीघ्र बनाउनका लागि १ महिनाभित्र अस्पताल कहाँ राख्नेबारेमा प्राविधिक अध्ययन प्रतिवेदन ल्याउनका लागि टोली बनाएका छौँ ।
स्वास्थ्य मन्त्रालय, महानगरपालिकाको स्वास्थ्य विभाग, सहरी विकास मन्त्रालय, धुनीबेंसी र ककनी पालिकाका प्रतिनिधिहरू राखिएको छ । त्यसकारण आजसम्म त्यहाँ डाक्टर रहेनन्, सिटामोल रहेन, तर पुलिस र गोली रह्यो भन्ने कथाको पनि हामी अन्त्य गर्न चाहन्छौँ ।’
उनले १७ बर्ष सिसडोलमा फोहोर खसाल्दा त्यहाँ कहालीलाग्दो अवस्थाहरु आएको, स्थानीयका समस्याहरु, त्यहाँको जनजीवन, कहालीलाग्दो दुर्दशा सिर्जना भएको बताइन । त्यसलाई सम्बोधन गर्न अहिले व्यवस्थित प्रयासहरु गरेको उनको भनाइ थियो । उनले ल्याण्डफिल साइट अत्यन्तै दुर्गन्धित भएकोले नाष्टले दिएको प्रतिवेदनका आधारमा जैविक वा अजैविक केमिकलद्धारा गन्धलाई हटाउने काम महानगरपालिकाले गर्नेगरी सम्झौता गरेको जानकारी दिइन् । यो स्थानीय तहको काम भएपनि शहरी विकास मन्त्रालयले यसको नेतृत्व लिएर काम गरिरहेको उनले बताइन् ।
मन्त्री झाँक्रीले बञ्चरेडाँडा ल्याण्डफिल साइट तयार भएको र फोहोर खसाल्न थालिसकेको बताइन् । उनले सिसडोलको पुनरावृत्ति नहुनेगरी बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न थालेको जानकारी गराइन् । साउन १ गतेदेखि देशैभर फोहोर वर्गिकरण गरेर ल्याण्डफिल साइटमा थोरै फोहोर लैजाने अवस्था सिर्जना हुने उनको भनाइ छ ।












