२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोरुगाउँपालिकामा निशुल्क आँखा शिविर : ५२ जनाको मोतिबिन्दु शल्यक्रिया, स्थानीय अत्यन्त खुशी



मुगु -आर्थिक, भौतिक, शिक्षा, स्वास्थ्य र रोजगारलगायतका क्षेत्रबाट पछाडि परेको मुगु जिल्लाको सोरुगाउँपालिकामा सञ्चालित निशुल्क आँखा स्वास्थ्य शिविरबाट स्थानीयवासीहरू लाभान्वित भएका छन्।

सोरुगाउँपालिका–४ लिब्रुगाउँका ८१ वर्षीय रणवीर शाही आँखा दुख्ने, चिलाउने, पाक्ने, आँसु झर्ने र देख्न नसक्ने समस्याले निकै वर्षदेखि पीडित थिए। आर्थिक अभावका कारण उपचार गर्न नसकेका शाहीले गाउँमै निशुल्क आँखा उपचार र मोतिबिन्दु शल्यक्रिया पाउँदा नयाँ जीवन पाएको अनुभूति गरेका छन्।
“गाउँमै डाक्टर आएर आँखाको अप्रेसन गरिदिँदा नयाँ आँखा पाएको महसुस भएको छ,” शाहीले खुशी व्यक्त गरे।

सोरुगाउँपालिकाले कार्तिक १८ गतेदेखि २४ गतेसम्म ११ वडामध्ये पाँच स्थानमा सञ्चालन गरेको आँखा शिविरमा ६६८ जनाले निशुल्क आँखा परीक्षण गराएका थिए। सोही शिविरमार्फत ५२ जनाको मोतिबिन्दु शल्यक्रिया गरिएको छ भने ८९ जनालाई निशुल्क चश्मा वितरण गरिएको छ।

शिविरमा संलग्न डा. सबिना परौलीका अनुसार हिमाली जिल्ला भएकाले यहाँका नागरिकहरू धुवाँ, धुलो र आगोको अत्यधिक प्रयोगका कारण मोतिबिन्दु, आँखामा चिलाउने, पाक्ने, चोटपटक र एलर्जीसम्बन्धी समस्याबाट बढी प्रभावित छन्।

सोरुगाउँपालिकाका उपाध्यक्ष केशरबहादुर शाहीका अनुसार शल्यक्रिया गराएकालाई पालिकाले प्रतिव्यक्ति एक हजार रुपैयाँ खाजाखर्चका रूपमा प्रदान गरेको छ। उनले भने, “गाउँमा रहेका नागरिकहरू उपचारको अभावमा अन्य रोगले समेत पीडित हुनुपर्ने अवस्था नहोस् भन्ने उद्देश्यले यो शिविर आयोजना गरिएको हो।”

पालिका अध्यक्ष धर्मबहादुर शाहीका अनुसार, सोरुगाउँपालिकाको आयोजनामा नेपाल रेडक्रस सोसाइटी सुर्खेत, आँखा अस्पताल सुर्खेतको प्राविधिक सहयोग र आयूआटी फाउन्डेसनको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको हो।
उनले भने, “स्थानिय नागरिकको मागअनुसार गाउँमै उपचार सेवा पुर्‍याउँदा १ सयभन्दा बढी आमा–बुबा खुशी भएका छन्। पालिकाको प्राथमिकतामा अब नियमित स्वास्थ्य सेवा विस्तार हुनेछ।”

प्रकाशित मिति : २०८२, २६ कार्तिक मंगलबार ००:००  २ : १३ बजे