नेकपा एमालेले ओखलढुंगा जिल्लाबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार अस्मिता थापालाई जिताउन आह्वान गर्दै, विधि निर्माणदेखि विकास निर्माणसम्मका एजेण्डा समेटेर निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ।
पार्टीको केन्द्रीय घोषणापत्र मूल दस्तावेज भए पनि, जिल्लाको सन्दर्भ समेटेर विगतमा भएका काम र आगामी कार्यसूचीसहित प्रतिबद्धतापत्र तयार गरिएको छ, निर्वाचन परिचालन कमिटी संयोजक यज्ञराज सुनुवारले जानकारी दिए।
उम्मेदवार थापाको तर्फबाट सार्वजनिक प्रतिबद्धतापत्रमा दूधकोशी, मोलुङ र लिखु करिडोरका सडक सम्पन्न गर्ने, मध्यपहाडी लोकमार्गको रेखांकन परिवर्तन गरेर ओखलढुंगाको केन्द्रभागबाट लैजान पहल गर्ने लगायतका विषय समेटिएका छन्।
त्यसैगरी, कृषिबाटै आर्थिक आत्मनिर्भरताका एजेण्डादेखि बाँदर वन्यजन्तुबाट खेती जोगाउने विषय, युवालाई सूचना प्रविधिमार्फत स्वरोजगारमा जोड्ने र युवा उद्यमशीलताको विकासजस्ता विषयसमेत प्रतिबद्धतापत्रमा समावेश गरिएको छ।
थापाले कृषि व्यवसायीकरण, यान्त्रिकीकरण र सहकारीमार्फत उत्पादन बिक्री ग्यारेन्टी नीति अघि सार्ने प्रतिबद्धता व्यक्त गरेकी छन्। जिल्लाको करिब ५० प्रतिशत भूभाग ओगटेको वन क्षेत्रलाई आय आर्जन र स्थानीय उपभोगमा प्रयोग गर्ने नीति पनि अघि सारिने छ।
त्यस्तै, पारिवारिक स्वास्थ्य कार्यक्रम, अस्पतालहरुको स्तरोन्नति, जेष्ठ नागरिकहरुलाई घरमै आधारभूत सेवा प्रवाह, वन जंगलजस्ता प्राकृतिक सम्पदालाई आर्थिक उपार्जनमा जोड्ने कानुनी पहल पनि प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ।
ओखलढुंगाको पर्यटन प्रवद्र्धन, पदमार्गहरुको निर्माण तथा विस्तार, र रुम्जाटार र चण्डेश्वरी विमानस्थल संचालनको एजेण्डा पनि यसमा समावेश गरिएको छ।
प्रतिबद्धतापत्रमा सार्वजनिक सेवा प्रवाहलाई उत्तरदायी बनाउने, विकाससहितका समस्याको समाधानमा सांसदको भूमिका सुनिश्चित गर्ने जस्ता विषयमा पनि जोड दिइएको छ।











