सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाबाटै करदाता सेवा सञ्चालन हुने भएको छ। गाउँपालिका र आन्तरिक राजस्व कार्यालय, धुलिखेलबीच करदाता सेवा स्थानीय तहबाटै सञ्चालन गर्ने सम्बन्धमा समझदारीपत्र (MoU) सम्पन्न भएसँगै उक्त सेवा सुरु हुने भएको हो।
नेपाल सरकारको निर्णयअनुसार अब हेलम्बु गाउँपालिकाबाटै व्यक्तिगत तथा व्यवसायिक स्थायी लेखा नम्बर (PAN) जारी, मूल्य अभिवृद्धि कर (VAT) दर्ता सिफारिस, कर चुक्ता प्रमाणपत्रलगायतका सेवा प्रदान गरिने जनाइएको छ।
सम्झौतापछि स्थानीय करदाताले सेवा लिन जिल्ला बाहिर जानुपर्ने झन्झट हट्ने विश्वास गरिएको छ। यसले समय र खर्च दुबै बचत हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ।
त्यसैगरी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन दुवै निकायबीच आवश्यक प्राविधिक समन्वय र सहकार्य गरिने बताइएको छ।
गाउँपालिकाबाटै करदाता सेवा सुरु गर्नेमा हेलम्बु गाउँपालिका बागमती प्रदेशकै पहिलो तथा देशकै ५०औँ गाउँपालिका बनेको छ।











