२०८२, १० चैत्र मंगलबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने



नेपाल आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास विक्री हुने बताएको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले एक सातापछि भरी सिलिन्डर ग्यास विक्री हुने बताएका हुन् । 

ग्यास आयातमा कुनै समस्या नरहेको जिकिर गर्दै उनले भने,”ग्यास आयातमा कुनै पनि समस्या छैन । उपभोक्ताले सञ्चिति बढाउँदा केही समस्या देखिएको छ । एक सातापछि  भरी सिलिन्डर बजारमा पठाउने योजनासहित निगम जुटेको छ ।”

निगमले फागुन २९ गतेदेखि आधा सिलिन्डर ग्यास विक्री गर्न निर्देशन दिएको थियो । हाल खाना पकाउने एलपी ग्यासको आयात निरन्तर भइरहेकाले अनावश्यक सञ्चिति नगर्न पनि भट्टले उपभोक्तालाई आग्रह गरेका छन् । 

नेपालमा मासिक ४६ हजार मेट्रिक टन ग्यास खपत हुँदै आएकोमा उक्ति परिमाणमा ग्यास आयात भइरहेको निगमले जनाएको छ । 

बेलाबखत हुने अभावको समस्या समाधानका लागि सरकारले भण्डारण पूर्वाधारमा लगानी गर्नुपर्ने भट्टले बताए । ”नेपालमा एलपी ग्यास पाइपलाइन र कम्तीमा ३० दिनका लागि पुग्ने भण्डारण पूर्वाधार निर्माण गर्नु अत्यावश्यक भइसकेको छ,” भट्टले भने । 

पाइपलाइन नहुँदा ग्यास ढुवानीमा मात्रै वार्षिक छ अर्बभन्दा बढी खर्च हुँदै आएको उनले बताए । नेपालसँग आफ्नै ग्यास बुलेट नहुँदा ढुवानी लागत अधिक भएको हो । ”ग्यास पाइपलाइन र भण्डारण पूर्वाधारमा लगानी भएमा अर्बौँ बचत हुन्छ । यसबाट आपूर्ति प्रणाली सुधार भई उपभोक्ताले पनि सहजै ग्यास पाउने अवस्था बन्छ,” उनले भने । 

तीन महिनाको पेट्रोलियम पदार्थ माग धान्ने पूर्वाधार निर्माणको नीति भए पनि त्यसतर्फ काम हुन सकेको छैन । 

भारतको मोतिहारीदेखि सर्लाहीसम्म ग्यास पाइपलाइन र भण्डारण गृह निर्माणका लागि नेपालले एक वर्षअघि नै भारतसँग प्रस्ताव राेखेको थियो । उक्त विषयमा भारतले हालसम्म पनि नेपाललाई कुनै जवाफ दिएको छैन । ”हामीले एक वर्षअघि नै प्रस्ताव राखेका थियौँ । अहिलेसम्म कुनै जवाफ प्राप्त भएको छैन,” कार्यकारी निर्देशक भट्टले भने ।

प्रकाशित मिति : २०८२, १० चैत्र मंगलबार ००:००  ५ : १० बजे