२०८२, ११ चैत्र बुधबार | Wed Mar 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै वासन्ती छठ सम्पन्न



मधेसको प्राचीन मिथिला क्षेत्रमा आज (चैत ११) बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै यसपालिको वासन्ती छठ पर्व बर्तालुले सम्पन्न गरेका छन् । मंगलबार साँझ अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका बर्तालुले आज बिहान सूर्योदय भएसँगै दोस्रो अर्घ्य दिएर पर्व सम्पन्न गरेका हुन् ।

मिथिलामा वासन्ती छठलाई बोलीचालीमा ‘चैती छठ’ भनिन्छ । वसन्त ऋतुमा मनाइने हुँदा यसलाई वासन्ती छठ भनिएको पाका मैथिल बताउँछन् । चैत शुक्लपक्षमा मनाइने हुँदा आम बोलीमा यसलाई ‘चैती छठ’ भन्ने गरिएको बर्दिबास–१४ हटियाका ७५ वर्षीय रामअयोध्या साहले बताए । 

चारदिने यो पर्व चैत शुक्ल चौथी (चतुर्थी) देखि सप्तमीसम्मको हुन्छ । यसपालि गत आइतबार चैत शुक्ल चतुर्थी (चौथी)का दिन ‘नहाय–खाय’ र सोमबार पञ्चमी तिथिका दिन बर्तालुले ‘खरना’ विधि सम्पन्न गरेका थिए । यसैगरी मंगलबार षष्ठी तिथिको निराहार व्रत बसेर बर्तालुले साँझ अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका थिए । यो पहिलो अर्घ्यलाई यहाँ ‘सझुका अरख’ भन्ने गरिएको छ । त्यसैगरी आज उदाउँदो सूर्यलाई दिइने अर्घ्यको विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।

पर्वको पहिलो दिन स्नान गरेर चोखोनीतो खाने चलन छ । यस दिन व्रतमा अपवित्र मानिने लहसुन, प्याज र कोदोसहितका खाद्यपदार्थ प्रयोग गरिन्नन् । अरवा चामलको भात खाइने हुँदा यस दिनलाई ‘अर्बाअर्बाइन’ पनि भनिन्छ । यसैगरी दोस्रो अर्थात् ‘खरना’का दिन दिनभरि उपवास रही राति सक्खर हालेर पकाइएको खिर इष्टदेवलाई चढाएर बर्तालुले खान्छन् । यो प्रसाद खाएपछि निराहार व्रत प्रारम्भ हुन्छ । षष्ठी तिथिका दिन निराहार व्रत रही साँझ पवित्र जलासयमा बनाइएको घाटमा गई अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य (अर्घ) दिने परम्परा छ । 

प्रकाशित मिति : २०८२, ११ चैत्र बुधबार ००:००  १० : ०७ बजे