बागलुङको बडीगाड गाउँपालिका–२ गिरिङ्दीमा हरित हाइड्रोजन ग्यास उत्पादन तथा खाना पकाउने चुलो विकास नमुना कार्यक्रम उद्घाटन गरिएको छ ।
ग्रिन्टी खोला लघु जलविद्युत आयोजनाबाट उत्पादित विद्युत प्रयोग गरी हरित हाइड्रोजन ग्यास उत्पादन गरिएको हो । कार्यक्रममा उक्त ग्यास प्रयोग गरेर खाना पकाएर समेत प्रदर्शन गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गण्डकी प्रदेश सरकारका आर्थिक मामिला मन्त्री जीत बहादुर शेरचनले गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शेरचनले ग्रामीण क्षेत्रमा हाइड्रोजन ग्यास प्रविधिलाई व्यवस्थित रूपमा अगाडि बढाउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले यो परीक्षण परियोजना भएकाले अत्यधिक हर्षित पनि नहुन र निरुत्साहित पनि नहुन नागरिकलाई आग्रह गर्नुभयो ।
बडीगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले यो परियोजना राज्य र नागरिक दुवैका लागि नमुना तथा महत्वपूर्ण काम भएको बताउनुभयो । उहाँले स्थानीय स्रोत र स्वच्छ ऊर्जाको प्रयोगबाट खाना पकाउने ग्यास उत्पादन गर्नु एसियाकै नमुना परियोजनामध्ये एक भएको दाबी गर्नुभयो ।
कार्यक्रममा भारत, जर्मनी, नेदरल्याण्ड्स लगायत विभिन्न देशका विशिष्ट व्यक्तित्व तथा ऊर्जा क्षेत्रका विज्ञहरूको सहभागिता रहेको थियो । सहभागीहरूले परियोजनाको अवलोकन गर्दै यसले भविष्यमा स्वच्छ ऊर्जा प्रवर्द्धन र वातावरण संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने बताएका थिए ।
परियोजनामा संलग्न प्राविधिक तथा विज्ञहरूले दिनरातको अथक प्रयास, अनुसन्धान र सफल परीक्षणपछि हरित हाइड्रोजन ग्यास उत्पादन गर्न सफल भएको बताएका छन् । उनीहरूका अनुसार यस प्रविधिले भविष्यमा ग्रामीण क्षेत्रमा वैकल्पिक ऊर्जाको प्रयोग विस्तार गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।











