ताप्लेजुङको मैवाखोला गाउँपालिका अन्तर्गत पर्ने साँघु स्वास्थ्य चौकीका दुई वटा नयाँ भवन निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको छ। गाउँपालिकाको आर्थिक स्रोतबाट निर्माण गरिएका भवनहरूको शुक्रबार औपचारिक उद्घाटन तथा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको हो।
गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेम का अनुसार कुल एक करोड १७ लाख ७७ हजार १८७ रुपियाँको लागतमा एउटा ११ कोठे र अर्को पाँच कोठे भवन निर्माण गरिएको हो। भवनहरूमा बर्थिङ सेन्टर (प्रसूति कक्ष) सहित २४ घण्टा स्वास्थ्य सेवा सञ्चालन गर्न आवश्यक पूर्वाधार तयार गरिएको छ। साथै नर्सिङ कर्मचारीका लागि आवासीय सुविधा समेत समावेश गरिएको अध्यक्ष वनेमले जानकारी दिनुभयो।
उहाँले नेपाल सरकारको मापदण्डअनुसार स्वास्थ्य चौकी भवन निर्माण गरिएको बताउँदै अब स्थानीयवासीले सहज, गुणस्तरीय तथा प्रभावकारी स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो।
स्वास्थ्य चौकी निर्माणका लागि नवराज भट्टराई, रवीन्द्र भट्टराई तथा उहाँहरूका परिवारले निःशुल्क जग्गा उपलब्ध गराएका हुन्।
दुवै भवन तेल्लाबुङ कन्स्ट्रकसन ले निर्माण गरेको हो। गाउँपालिका अध्यक्ष वनेम र उपाध्यक्ष कमलकुमारी लिम्बू ले संयुक्त रूपमा भवन उद्घाटन गर्नुभएको गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देन ले जानकारी दिनुभयो।
भवन उद्घाटन कार्यक्रममा अध्यक्ष वनेमले पालिकाभित्र स्वास्थ्य सेवाको क्षेत्रमा यो महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर थप सुधार गरिने बताउनुभयो।











