२०८३, ४ जेष्ठ सोमबार | Mon May 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ईश्वरपुर नगर अस्पतालमा डायलाइसिस सेवा सञ्चालन, मिर्गौला पीडितलाई ठूलो राहत



ईश्वरपुर नगरपालिकाले सर्लाही जिल्लामै पहिलो पटक मिर्गौला डायलाइसिस सेवा सञ्चालनमा ल्याएपछि जिल्लाभित्रका मिर्गौला पीडित बिरामीहरूलाई ठूलो राहत मिलेको छ ।

वर्षौंदेखि नियमित डायलाइसिस गराउँदै आएका बिरामीहरू अब उपचारका लागि जनकपुर, वीरगञ्ज, भरतपुर वा काठमाडौँ धाउनुपर्ने बाध्यताबाट मुक्त हुन थालेका छन् । आफ्नै जिल्लामा सहज रूपमा सेवा उपलब्ध हुन थालेपछि बिरामी तथा परिवारजनमा खुसी छाएको छ ।

नगर प्रमुख मनोज कुमार आचार्यले अनलाइन सरोकारसँग कुरा गर्दै नगर अस्पतालबाट डायलाइसिस सेवा सुरु हुनु सर्लाहीवासीका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो । उहाँले नगरपालिकाले नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ सेवा विस्तार गरिरहेको उल्लेख गर्नुभयो ।

इश्वरपुर नगर अस्पतालमा सुरु गरिएको यो सेवा जिल्लामै पहिलो भएकाले मिर्गौला रोगीहरूका लागि जीवनदायी बनेको छ । डायलाइसिस सेवा मिर्गौलाले काम गर्न छाडेपछि शरीरमा जम्मा हुने फोहोर पदार्थ बाहिर निकाल्न प्रयोग गरिने उपचार विधि हो । यसले बिरामीलाई थप जटिल स्वास्थ्य जोखिमबाट जोगाउन सहयोग पुर्‍याउँछ ।

हाल अस्पतालमा दुईवटा डायलाइसिस मेसिनमार्फत सेवा सञ्चालन भइरहेको छ । बिरामीको चाप बढ्दै गएपछि थप मेसिन आवश्यक रहेको भन्दै सरकारसँग थप उपकरण उपलब्ध गराउन पहल भइरहेको जनाइएको छ ।

ईश्वरपुर नगर अस्पतालमा डायलाइसिस सेवा सुरु भएसँगै सर्लाही जिल्लाका सयौँ मिर्गौला पीडित बिरामीले समय, खर्च र दुःख बाट राहत महसुस गर्न थालेका छन् ।

प्रकाशित मिति : २०८३, ४ जेष्ठ सोमबार ००:००  ७ : ०४ बजे