ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकाले काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गरी तीनदिने एकीकृत सेवा शिविर सुरु गरेको छ। शिविरको पहिलो दिन सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रमसमेत आयोजना गरिएको थियो।
काठमाडौंको जोरपाटीस्थित शेर्पा पार्टी प्यालेस मा सुरु भएको शिविर साउन २५, २६ र २७ गतेसम्म सञ्चालन हुनेछ। अध्ययन, रोजगारी, व्यवसाय, उपचारलगायत विभिन्न कारणले काठमाडौंमा बसोबास गरिरहेका नागरिकलाई गाउँ नफर्किकनै आवश्यक प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाले शिविर सञ्चालन गरेको हो।
शिविरमार्फत जन्म, मृत्यु, विवाह, बसाइँसराइ तथा सम्बन्ध विच्छेदसम्बन्धी व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, भूमि कर तथा मालपोत संकलन, राष्ट्रिय परिचयपत्र वितरण, विभिन्न प्रशासनिक सिफारिसलगायत वडा कार्यालयबाट प्रदान गरिने अधिकांश सेवा उपलब्ध गराइनेछ। यस वर्षदेखि पहिलो पटक बैंकिङ सेवासमेत शिविरबाटै उपलब्ध गराइएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाकी उपाध्यक्ष सुसिला तामाङले गाउँपालिकासम्म पुग्न समय, खर्च र यात्रा कठिन हुने भएकाले काठमाडौंमै सेवा उपलब्ध गराउन शिविर सञ्चालन गरिएको बताइन्।
उद्घाटन समारोहमा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले नागरिकबाट प्राप्त सुझावका आधारमा आगामी दिनमा यस्ता कार्यक्रमलाई अझ व्यवस्थित, प्रभावकारी र सेवामुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।
प्रमुख प्रशासकीय अधिकृत नविना गिरीले शिविरमार्फत उपलब्ध गराइने सेवाबारे जानकारी दिँदै नागरिकलाई एकै स्थानबाट छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्य रहेको बताइन्।
कार्यक्रममा संघीय सांसद विश्वराज पोखरेल, गाउँपालिकाका जनप्रतिनिधि, वडा अध्यक्षहरू, कर्मचारी तथा काठमाडौं उपत्यकामा बसोबास गर्ने खिजिदेम्बावासी नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
शिविरसँगै सार्वजनिक सुनुवाइ तथा सुझाव संकलन कार्यक्रम पनि सञ्चालन गरिएको थियो। कार्यक्रममा सहभागी नागरिकहरूले काठमाडौंमै गाउँपालिकाको सेवा उपलब्ध गराएकोमा खुसी व्यक्त गर्दै समय र खर्च दुवै बचत भएको प्रतिक्रिया दिए। साथै, आगामी दिनमा पनि यस्ता नागरिकमैत्री कार्यक्रमलाई निरन्तरता दिन गाउँपालिकासँग आग्रह गरेका छन्।
गाउँपालिकाले सञ्चालन गरेको यो अभियानलाई स्थानीय सरकारको सेवा नागरिकको पहुँचसम्म पुर्याउने प्रभावकारी, सेवामुखी र नागरिकमैत्री पहलका रूपमा हेरिएको छ।











