२०८३, ९ भदौ मंगलबार | Tue Aug 25 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्रीलाई सनग्लास लगाउन चिकित्सककै सिफारिस



प्रधानमन्त्री वालेन्द्र शाहले प्रतिनिधिसभा वैठकमा कालोचश्मा लगाउनुपर्ने कारण खुलाएर संसद सचिवालयलाई पत्र पठाएका छन् । उनले चिकित्सकको रिपोर्टसहितको पत्र पठाएको संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।

केही दिनअघि कार्यव्यवस्था समितिको वैठकमा सभामुख डिपी अर्यालले सांसदहरुलाई संसद वैठकमा आउँदा कालो चश्मा नलगाउन निर्देशन दिएका थिए ।
आँखाको समस्याका कारण लगाउनैपर्ने भएमा डाक्टरको रिपोर्ट पेश गर्नुपर्ने उनले भनेका थिए । त्यही बमोजिम प्रधानमन्त्री शाहले सचिवालयलाई पत्र पठाएका हुन् ।

प्रधानमन्त्री शाह भोलि संसद बैठकमा सहभागी हुने कार्यक्रम छ । उनले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनेछन् । बैठकमा प्रधानमन्त्री शाह कालो चश्मा लगाएरै आउने भएका छन् । आफूलाई आँखाको सुख्खापनका कारण उज्यालोमा हेर्न समस्या हुने भएकाले कालो चश्मा लगाउनुपरेको प्रधानमन्त्रीले पत्रमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीले लेफ्टिनेन्ट कर्णेल डा. सचित ढकालले दिएको मेडिकल रिपोर्ट पनि पेश गरेका छन् ।

त्यसमा लेखिएको छ, ‘माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई उज्यालो प्रकाशमा हेर्न कठिनाइ हुने समस्याका सम्बन्धमा मैले परीक्षण गरेको छु । परीक्षणका क्रममा उहाँमा ड्राइ आई डिजिज (आँखा सुख्खा हुने समस्या) देखिएको छ । उक्त समस्याका लागि उहाँलाई आवश्यकताअनुसार बारम्बार प्रयोग गर्ने गरी

कार्बोक्सिमिथाइलसेलुलोज ०.५ प्रतिशतको आँखामा हाल्ने ड्रप प्रयोग गर्न सल्लाह दिइएको छ । साथै, उज्यालो प्रकाश भएको वातावरणमा रहँदा समस्या कम गर्न आँखाको सुरक्षाका लागि सनग्लास/चस्मा (शेड्स) प्रयोग गर्न पनि सुझाव दिइएको छ ।’

प्रकाशित मिति : २०८३, ९ भदौ मंगलबार ००:००  ११ : ५४ बजे