काठमाडौं महानगरपालिका वडा नं. ७ अन्तर्गत शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको आयोजनामा जनस्वास्थ्य जोखिम न्यूनीकरणमा सुरक्षित खानेपानी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रका अध्यक्ष तथा काठमाडौं महानगरपालिका वडा नं. ७ का वडा अध्यक्ष बिमल कुमार होडाको सभापतित्वमा सम्पन्न भएको हो।

कार्यक्रममा काठमाडौं महानगरपालिका स्वास्थ्य विभागकी राधिका कुइँकेल खनाल, वडा सचिव पदम केसर अधिकारी, शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रकी इन्चार्ज सुभाषिनी कर्माचार्य, डा. डेभिड, पाण्डप बस्नेत, स्वास्थ्य स्वयंसेविका सङ्गीता दाहाल र साब्रिटी भण्डारी, विद्यालय नर्स शर्मिला तथा एन्फो (ENPHO) संस्थाकी स्रोत व्यक्ति ऋतु शर्मा लगायतको सहभागिता रहेको थियो।
अभिमुखीकरण कार्यक्रममा सुरक्षित खानेपानीको प्रयोग, पानीजन्य रोगहरूको रोकथाम, स्वच्छता तथा सरसफाइ, खानेपानीको गुणस्तर कायम गर्ने उपाय र जनस्वास्थ्य जोखिम न्यूनीकरणका विभिन्न पक्षबारे जानकारी प्रदान गरिएको थियो। सहभागीहरूलाई दैनिक जीवनमा सुरक्षित खानेपानीको प्रयोगलाई प्राथमिकता दिन तथा समुदायमा जनचेतना अभिवृद्धि गर्न सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो।
कार्यक्रममा सहभागीहरूले सुरक्षित खानेपानीको पहुँच र प्रयोगलाई अझ प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्यकर्मी तथा समुदायबीचको समन्वयलाई थप सुदृढ गर्नुपर्नेमा जोड दिएका थिए। यस्ता सचेतनामूलक कार्यक्रमहरूले समुदायमा स्वास्थ्यसम्बन्धी जोखिम न्यूनीकरण तथा स्वस्थ जीवनशैली प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो।











