काठमाडौं । प्रदेश ५ को राजधानी सार्ने प्रस्तावको विरोधमा प्रदर्शन चर्किन थालेपछि बुटवलका करिब एक दर्जन ठाउँ निषेधाज्ञा जारी गरेको छ । आइतबार बिहान ६ बजेबाट लागु हुनेगरी असोज २१ बेलुकी ६ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
निषेधित क्षेत्रमा ५ जनाभन्दा बढी जम्मा हुन रोक लगाएको छ । स्थायी राजधानी दाङको भालुवाङ सार्ने प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले रुपन्देही बन्द र प्रदेश सभा घेराउ लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेपछि प्रदेश सरकारको निर्देशनमा जिल्ला प्रशासन कार्यालय रुपन्देहीले निषेधाज्ञा आदेश जारी गरेको हो । प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको जनाएको छ ।
यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय आसपास दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्ग सम्मको क्षेत्रभित्र प्रदर्शन र भेला गर्न नपाइने गरी निषेधाज्ञा जारी गरिएको प्रशासनको सूचनामा उल्लेख छ । यस्तै प्रदेश मन्त्रालयहरु रहेको क्षेत्रमा दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोकसम्म निषेधित क्षेत्र तोकिएको छ ।
प्रशासनले निषेधित क्षेत्र तोकेपछि कांग्रेसले आह्वान गरेको रुपन्देही बन्द र दुई दर्जन बढी व्यवसायिक संस्थाहरुको सञ्जालले राजधानी सार्ने प्रस्तावको विरोधमा आज बिहान संयुक्तरुपमा आयोजना गरेको प्रदर्शन प्रभावित भएको छ ।











