सिन्धुली । सिन्धुली जिल्लाको कमलाखोंच क्षेत्रमा संचालन गरिएको सामूहिक चक्लाबन्दी खेतीले अन्नबाली तथा तरकारी उत्पादनमा वृद्धि भएको छ ।
परम्परागत रुपमा गरिंदै आएको खेती प्रणालीबाट उर्वराभूमिहरु दिनदिनै खण्डीकरण भई उत्पादनमा समेत क्षयीकरण भइरहेको अवस्थामा सामूहिक चक्लाबन्दी खेती संचालन गरिएपछि खेती प्रणालीमा विकास भएको हो ।
कमलाखोंचस्थित दुधौली नगरपालिकाको वडा नं २ हत्पतेमा स्थानीय किसानहरुको खण्डखण्डमा रहेका कुल १ सय २१ विघा जग्गालाई एकीकृत गरी सामूहिक चक्लावन्दी गरिएसँगै खाद्यन्न उत्पादन, पशुपालन व्यवसाय र तरकारी उत्पादन बढेर गएको हो ।
बागमती प्रदेश सरकारको कुल ७० प्रतिशत र दुधौंली नगरपालिकाको कुल ३० प्रतिशत आर्थिक सहयोग गरी करिब ५ करोड लागतमा संचालित सामूहिक एकीकृत खेती प्रणाली बागमती प्रदेशको नमुना सामूहिक चक्लाबन्दी खेती बनेको छ ।
विगतमा जग्गा जमिनहरु खण्डीकरणको अवस्थामा खेतीपाती गर्दा वर्षभरी खान नपुग्ने स्थानीय किसानहरु सामूहिक चक्लाबन्दी खेती संचालनबाट भने मनग्गे आम्दानी गर्न सफल भएका छन् ।
सामूहिक खेतीबाट उत्पादन हुने खाद्यन्न , तरकारी, तेलहन र दलहन कमलाखोच क्षेत्र सिन्धुलीमाडी लगायतका स्थानहरुमा समेत बिक्री वितरण हुँदै आएको छ ।