काठमाडौं। पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता लिलानाथ श्रेष्ठले सिरहा जिल्लाको विकासका लागि जनताले महसुस गर्नेगरि काम गरेको बताएका छन् । सिरहा क्षेत्र नंं. ३ मा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका श्रेष्ठले निरन्तर जनताको सेवा र जिल्लाको विकासमा सकृय भएर काम गरेकाले आगामी निर्वाचनमा आफुले जित हासिल गर्ने बताएका हुन् ।
२०७४ सालमा आफु निर्वाचित भएपछि सिरहा ३ को विकासले फड्को मारेको उनको दावी छ । ‘यो ५ वर्षमा मैले जनताले देख्नेगरि काम गरेको छु । मेरो जितको आधार पनि मैले गरेको जनसेवा र विकास नै हो ।’ उनले भने, ‘विकासको जग बसाएको छु, अबको ५ वर्षमा पूर्वाधार विकासका अधुरा र गर्नबाँकी काम सम्पन्न गर्ने योजना छ ।’ सिरहाको विकासमा सबैभन्दा बढी आफुले योगदान गरेको उनको दावी छ ।
केपी ओली नेतृत्वको सरकारले समृद्ध नेपाल, सुखी नेपालीको अभियान अन्तरगत थालेका राष्ट्रिय महत्वका विकास योजना गठबन्धन सरकार आएपछि ठप्प पारेको बताए । यस्ता रोकिएका काम अघि बढाउ एमाले सरकार बन्न जरुरी रहेको उनको भनाई छ । ‘गठबन्धनले अलपत्र पार्न खोजेका महत्त्वपूर्ण काम हामी फेरी अघि बढाउँछौँ’, श्रेष्ठले अनलाइन सरोकारसँग भने ।
सिरहा ३ मा श्रेष्ठको पक्षमा चुनावी माहोल देखिएको छ । जनपक्षीय काम गरेको भन्दै नागरिकले उनको पक्षमा मतदानत गर्ने बताइरहेका छन् ।