२०८०, १७ मंसिर आइतबार | Sun Dec 3 2023

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराको बिच्छ्याकी सुत्केरीको हेलिकप्टरबाट उद्वार



बाजुराको विकट हिमाली गाउँपालिकाको बिच्छ्याकी एक सुत्केरी महिलाको हेलिकप्टरबाट उद्वार गरिएको छ । स्थानीय २३ वर्षिया कल्पना रोकायाको प्रसुति पछि उच्च रक्तस्राव भएको र प्लासेन्टा आउट समेत नभएपछि थप उपचारका लागि हेलिकप्टरबाट उद्वार गरेर सुर्खेत लगिएको हो ।

मानव विकास सुचकांकमा देशकै सबैभन्दा पछि परेको गाउँ बिच्छ्यामा टेलिफोन समेत राम्रो नलाग्ने र उद्वारका लागि प्रकृयागत झमेला भएपनि सबै सरोकारवाला निकायको पहलमा हेलिकप्टरबाट उद्वार गरेर सुत्केरीको ज्यान बचाइएको हिमाली गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख एवम् सूचना अधिकारी राजबहादुर भण्डारीले जानकारी दिए । उद्वार गरिएकी सुत्केरीको सुर्खेत प्रादेशिक अस्पतालमा थप उपचार भइरहेको छ ।

गर्भवती तथा सुत्केरीको आपतकालिन उद्वारका लागि उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम स्थानीय सरकारको समन्वय र जिल्ला प्रशासनको सिफारिसमा राष्ट्रपति महिला उद्धार केन्द्र मार्फत हेलिकप्टर पठाएर निःशुल्क उद्वार गर्ने सरकारी नीति छ ।

तर बाजुराको बिच्छ्या जस्ता गाउँमा समस्या पर्दा सरकारी प्रकृया पुर्याउन गाह्रो हुने स्वास्थ्य शाखा प्रमुख भण्डारी बताउँछन् । `कागजात चाहिएको सबै दुर्गमता र ईन्टरनेट नहुदा पठाउन सकिदैन । उताबाट रिफर कागजात र निर्णय पठाउनु अनि हुन्छ भन्ने जवाफ आउँछ तर हामीकहाँ स्वास्थ्य संस्था बाट तुरुन्तै पठाउन सक्ने ईन्टरनेट सुबिधा नहुदा अफ्ठ्यारो हुन्छ ।´ प्रमुख भण्डारीले अनलाइन सरोकारसँग भने,`सबै प्रकृया पुरा गरेर पनि कहिलेकाहीँ मौषमको खराबीका कारण उद्वार हुन सक्दैन ।´ सरकारी प्रकृया सहज बनाए दुर्गम क्षेत्रका महिलाहरुले राष्ट्रपति महिला उद्धार सेवाबाट लाभ लिन सक्ने उनको भनाइ छ ।

बाजुराको साविकको बिच्छ्या गाविस हालको हिमाली गाउँपालिका वडानम्बर १,२ र ३ मा अहिले सम्म मोटरबाटोको पहुँचसम्म पुगेको छैन । यहाँका स्थानीय सवारी चढेर गाउँपालिका वा शहर आउन करिब ५ घण्टा पैदल यात्रा गरेर हुम्लाको ताजाकोट वा १ दिन लगाएर कुवाडी पुग्नुपर्छ ।

आधारभुत सेवाबाट समेत वञ्चित बिच्छ्याका स्थानीयले आफुहरुका दुःख धुलाचौर (गाउँपालिका), धनगढी (प्रदेश सरकार) र काठमाडौं (संघीय सरकार) ले नदेखेको गुनासो गर्ने गरेका छन् ।

विच्छ्याको विकासलाई प्राथमिकता राखेपनि स्रोत अभावले पर्याप्त हुन नसकेको हिमाली गाउँपालिका अध्यक्ष गोविन्दबहादुर मल्ल बताउँछन् ।

प्रकाशित मिति : २०८०, ९ आश्विन मंगलबार ००:००  १० : ५० बजे