सिन्धुपाल्चोकको लिसंखु पाखरका किसानलाई अनुदानमा आलुको बिउ वितरण गरिएको छ । चिप्ले तिनचोक आलु पकेट संचालन समन्वय समितिका सदस्यहरुलाई पचास प्रतिशत अनुदानमा आलुको बिउ वितरण गरिएको हो ।
उन्नत जातको आलु रोपेर उत्पादन बढाउन पकेट क्षेत्रका किसानलाई अनुदानमा बिउ हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष राजु लामाले बताए । पालिकाले किसानलाई मल, बिउ, विषाधीमा अनुदानसहित आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै उत्पादित कृषि उपजको भण्डारण र बजारीकरणमा पनि पकेट विकास कार्यक्रम अन्तरगत किसानलाई सहयोग गरिएको अध्यक्ष लामाको भनाई छ ।
लिसंखु पाखरको वडा नम्बर ३ मा चिप्ले चिनचोक आलु पकेट संचालन समन्वय समिति सञ्चालनमा छ । कुल ५ लाख ४० हजारको लागतमा सञ्चालित उक्त पकेट आयोजनाका लागि गाउँपालिकाले २ लाख ७० हजार सहयोग गरेको थियो । त्यतिनै अर्थात २ लाख ७० हजार बराबरको उपभोक्ता समितिले योगदान गरेको योजनाका अध्यक्ष जेठा तामाङले बताए । पालिकाको अनुदान सहयोगले किसान उत्साहित बनेका छन् ।
लिसंखु पाखरले कृषि मार्फत किसानको आयस्रोत बढाउने लक्ष्य अनुसार कृषिको आधुनिकिकरणमा जोड दिइरहेको छ ।