२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धिचरण नगरपालिकाका अगुवा कृषक कृषि अभियान्ता बन्दै



ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाले नगरक्षेत्रका अगुवा कृषकलाई कृषि अभियान्ता बनाउने भएको छ । कृषि पेशामा किसानको आकर्षण बढाउन अगुवा कृषकहरु मार्फत अभियान चलाउने नगरपालिकाले नीति लिएको हो ।

तत्काल नगरक्षेत्रमा रहेका अगुवा कृषकहरुको लगत तयार गरी उनीहरुलाई कृषि अभियन्ताको रुपमा परिचालन गरिने नगरप्रमुख मोहनकुमार श्रेष्ठले बताए । नगरपालिका र कृषिका विभिन्न निकायबाट छनौट तथा पुरस्कृत भएका अगुवा कृषकलाई थप क्षमता विकासका कार्यक्रममा सहभागी गराएर अभियानमा खटाईने छ ।

कृषि पेशामा संलग्न व्यक्तिहरुको समूह बनाई समूहमा आवद्ध कृषकहरुलाई नगरपालिकाबाट खटाइने प्राविधिक कर्मचारी र नगर स्थित अगुवा कृषकहरुबाट घुम्ती तालीम सञ्चालन गर्ने नगरपालिकाको नीति छ । यस्तो तालिममा नगरक्षेत्रका सबैजसो किसान समेटिने छन् ।

अगुवा कृषकलाई कृषि अभियान्ता बनाउने नगरपालिकाको नीतिले यहाँका किसान खुसी भएका छन् । विगत लामो समय देखि नगर, जिल्ला र प्रदेशकै उत्कृष्ट अगुवा कृषक भएर सम्मानीत भएपनि कृषि अभियानका बारेमा पहिलो पटक जिम्मेवारी पाउने नीति बनेपछि  आफुहरु थप उत्साहित भएको अगुवा कृषक जिराकुमारी मगरले बताईन् । नीति कार्यान्वयनमा तदारुकदा देखाउन आवश्यक रहेको उनको भनाई छ ।

रासायनिक मल र विषादीको प्रयोगलाई दुरुत्साहित गरी प्राङ्गणिक मल र जैविक बिषादीको उत्पादन तथा प्रयोगलाई प्रोत्साहित गर्ने कार्यक्रम समेत सञ्चालन गरिने भएको छ ।

यसैबिच नगरपालिकाले किसानको उत्पादनलाई बजारीकरण गर्न सहयोग गर्ने भएको छ । कृषकहरुबाट उत्पादित हरियो तरकारीको बजारीकरणका लागि तोकिएको समर्थन मूल्य तोक्ने र उत्पादनस्थलबाटै खरिद गरी सदरमुकाम बजार लगायत नगरका मुख्य तथा सहायक बजारहरुमा काउन्टर खोली बिक्री गर्न सहकारी संस्थाको छनौट गरेर जिम्मेवारी दिइने नगरप्रमुख श्रेष्ठको भनाई छ । ‘हाम्रो नगरको समृद्धिको एउटा महत्वपूर्ण क्षेत्र कृषि हो, धेरैजसो नागरबासी कृषिमा आवद्ध छन् । त्यसैले कृषि मार्फत किसानको समृद्धि खोजिरहेका छौं ।’ नगरप्रमुख श्रेष्ठले भने, ‘किसानलाई मल बिउ सहित आर्थिक तथा प्राविधिक सहयोग मात्रै होईन, किसानको उत्पादनलाई बजारीकरण गर्न पनि हामी सहकारी मार्फत काम गर्छौं ।’ कृषि उपजको बजारीकरणका लागि छनौटमा परेका सहकारी संस्थालाई व्यवस्थापन अनुदानको रुपमा निश्चित रकम नगरपालिकाले उपलब्ध गराउने छ ।

सिद्धिचरण नगरपालिकाका सबै १२ वटै वडामा अन्नबाली तथा फलफूल उत्पादनको लागि सम्भावित क्षेत्रहरुको किटान गरी उन्नत वीउ, वेर्ना, प्रविधि र मलको प्रयोगबाट ‘एक गाउँ एक कृषि उत्पादन’ कार्यक्रम सञ्चालन गरिने भएको छ ।

कोरोना भाईरसका कारण रोजगारीको अवसर गुमाएर गाउँ घर फर्किएका र अन्य वेरोजगार युवाहरुलाई करार खेती, चाक्लाबन्दी र सामुदायिक खेती तथा युवा लक्षित पशुपंक्षी बजार प्रवद्र्धन कार्यक्रममा आवद्ध गराउने नगरपालिकाको नीति छ । यो कार्यक्रम सञ्चालनका लागि  युवा स्वरोजगार घुम्तीकोषको स्थापना गरिने सिद्धिचरण नगरपालिका ओखलढुंगाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २१ श्रावण बुधबार ००:००  ९ : ३० बजे