सिर्जना बर्देवा –
खोटाङको ऐसेलुखर्कमा विकास निर्माणका काममा महिला सहभागिता अनिवार्य गरिएको छ । गाउँपालिकाले पालिका भित्रका सबै विकास योजना तथा कार्यक्रमहरूमा महिला सहभागिता सुनिश्चित गर्ने नीति लिएको हो ।
सामाजिक, आर्थिक र राजनैतिक रूपले पछाडि पारिएको महिलाहरूको उत्थान, सशक्तीकरण र मूल प्रवाहिकरणको लागि क्षमता तथा सीप मूलक कार्यक्रम सञ्चालन गरेर सबै क्षेत्रमा महिलाको सहभागिता बढाउने नीति लिइएको ऐसेलुखर्क गाउँपालिकाका उपाध्यक्ष पुष्पाकला भुजेलले जानकारी दिइन् । ‘घरभित्रै चुला चौकामा सीमित हुने महिला दिदी बहिनीहरूलाई पहुँच र प्रतिनिधित्वमा पुर्याउने हाम्रो लक्ष्य छ ।’ उपाध्यक्ष भुजेलले अनलाइन सरोकारसँग भनिन् ‘क्षमता तथा सीप विकासका कार्यक्रम पनि चलाउँछौँ र सबैजसो विकासका योजना र कार्यक्रम सञ्चालनमा महिला अनिवार्य गर्छौं ।’ महिला तथा बालबालिका सँग सम्बन्धित दिवसीय कार्यक्रमहरूमा जोड दिइने उपाध्यक्ष भुजेलको भनाई छ ।
पालिका भित्रका महिलाहरूलाई समूह र समितिमा आवद्ध गराएर मासिक बचत, बचत परिचालन तथा पुँजीलाई व्यवस्थित गर्न सिकाइने गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख छ ।
स्वास्थ्य क्षेत्रको पहुँचबाट टाढा रहेका ग्रामीण महिलाका लागि प्रजनन स्वास्थ्य सम्बन्धी सचेतना मूलक कार्यक्रमहरू गर्न आवश्यक बजेट समेत विनियोजन गरिएको ऐसेलुखर्क गाउँपालिका खोटाङले जनाएको छ ।