धनकुटा नगरपालिकाले धनकुटालाई चिनाउने मौलिक जातीय संस्कृति रहेको आठपहरिया जातिको भाषा, धर्म, संस्कृति र भेषभुषाको संरक्षण गर्न थालेको छ । मुलुकभर धनकुटामा मात्र पाइने आठपहरिया जातिको पहिचान पर्यटनसँग जोडर नगरपालिकाले प्रवद्र्धन गर्न थालेको हो ।
नगरपालिकाको पहलमा आठपहरियाको इतिहास जोडिएको चुलीवन क्षेत्रमा भ्युटावर र धनकुटा नगर विकास समितिको तीन रोपनी क्षेत्रफलमा संग्रहालय निर्माण गरिएको छ ।
संग्रहालयमा आठपहरियाका जातिका गरगहना, पोशाक, संस्कृति भेषभुषा, दिनचर्यामा प्रयोग गरिने सामाग्री तथा जन्मदेखि मृत्युसम्मको संस्कृति झल्कने सामग्री राखिने छ । विवाह तथा पितृका लागि तीन चुला लगायत पुराना तस्बिर, भान्छामा प्रयोग हुने वस्तुहरु समावेश गरिने छ ।
ती सामग्रीको मुल्य सुचिपछि धनकुटा नगरपालिका मार्फत खरिद गरेर संग्रहालयमा राखिने तयारी गरिएको छ ।
चार वटा फुसको छानो रहेको संग्रहालयलाई मौलिक रङरोगन तथा सिंगारिएको छ ।
आठपहरिया जाति बसोबास गर्ने विभिन्न स्थानमा होमस्टे समेत सञ्चालनमा ल्याइएको छ ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले आठपहरिया जातिको संस्कृति, संस्कारलाई पर्यटकीय रुपमा विकास तथा प्रवर्द्धनका लागि संग्रहालयले महत्व राख्ने बताए । भ्युटावर, होमस्टे र संग्रहालयले नगरको पर्यटन प्रवर्द्धनमा उल्लेख्य महत्व राख्ने उनको तर्क छ ।
ऐतिहासिक मार्गाथान, ५२ चुलो, श्रीपञ्चमी, चुलिबन लगायत उक्त जातिको मुख्य बसोबास रहेका स्थानमा पाहुनालाई भ्रमण गराउने र मौलिक संस्कृतिले स्वागत गरिन्छ ।
जातीय, धार्मिक एवं संस्कृति प्रदर्शन गरी पर्यटकीय स्थलको रूपमा विकास गर्ने साथै मौलिक र अर्गानिक परिकार ग्राहकको रोजाइअनुसारको खानपान व्यवस्थापन गरिनेछ ।
व्यावसायिक रूपमा रहेका होटलभन्दा भिन्न हुने होमस्टेसँगै आठपहरिया जातिको पूजा गर्ने एक घरमा ५२ चुला र पाँच सय वर्ष पुरानो मार्गा मन्दिर पर्यटन आकर्षण केन्द्र बनाइने छ ।
आठपहरिया जातिको मौलिक परम्परामा आधारित रहेको एउटै घरको ५२ चुलालाई विश्वभर चिनाउन गिनिज बुकमा नाम लेखाउन पहल सुरु भएको छ ।
आठपहरिया अर्थात नेपालको एउटा गाउँमा मात्रै बसोबास गर्ने, आफ्नो छुट्टै संस्कार, संस्कृति र पहिचान भएको सीमान्तकृत समुदाय हो ।
नेपालको पूर्वी भेग अरुण र तमोर नदी बीचमा पर्ने धनकुटालाई आफ्नो उद्गम थलो मान्दै आएको आदिवासी जनजातिमा पर्दछ ‘आठपहरिया’ जाति । यो जातिको वसोवास मख्यतः धनकुटा नगरपालिका भित्र मात्रै छ ।
युगौ युगदेखि एउटै थाकथलोमा बसोबास गर्दै आएको हुनाले यस जातिलाई भूमि पुत्रको रूपमा लिइन्छ ।
आठपहरिया जातिको इतिहास, सामाजिक मूल्य, मान्यता र धर्मको बारेमा अनेक किंवदन्ती छन् तर ठोस् तथ्य र लिखित इतिहास छैन ।
मुख्य चाड भदौ महिनामा चामनुंगी बनाउने आठपहरिया समुदायले आफ्नो पुरानो संरुकार जिवित राखेको छ ।
धनकुटामा आठपहरिया जातिसँग जोडिएका थुप्रै किंवदन्ती छन् । जुन नयाँ पुस्ताका लागि चासो र खोजिको विषय बन्नसक्छ ।