सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । कोरोना महामारीलाई लक्षित गरेर विरामीलाई उपचारका लागि अस्पताल सम्म लैजान गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेको हो ।
पालिका भित्रका गर्भवती, जेष्ठनागरिक र अपाङ्गहरुका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेको गाउँपालिका उपाध्यक्ष गंगादेवी श्रेष्ठले जानकारी दिइन् । पालिकावासीहरुलाई आकस्मिक सेवाका लागि आफ्नो निवासबाट अस्पतालसम्म, एक अस्पतालदेखि अर्को अस्पतालसम्म वा अस्पतालबाट बिरामीको घरसम्म लैजान र ल्याउन निशुल्क एम्बुलेन्स सेवाको सुविधा उपलब्ध गराएको श्रेष्ठको भनाई छ ।
‘कोरोना महामारीलाई लक्षित गर्दै हामीले गर्भवती–सुत्केरी, जेष्ठ नागरिक र क, ख बर्गका अपांगहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरेका हौँ ।’ उपाध्यक्ष श्रेष्ठले अनलाइन सरोकारसँग भनिन् ‘एकल महिलाहरुका लागि पनि २५ प्रतिशत छुटको व्यवस्था गरेका छौँ ।’
यसअघि, २५ प्रतिशत छुटमा गाउँपालिकाले एम्बुलेन्स सेवा दिँदै आएको थियो । पालिका भित्रका स्थानीयले पालिका भित्रैका स्वास्थ्य संस्था सम्म पुगेर सेवा लिँदा पैसा तिर्नु नपरे पनि पालिका बाहिर जानेका लागि भने ५० प्रतिशत शुल्क लाग्ने जनाइएको छ ।