२०८१, १८ मंसिर मंगलबार | Tue Dec 3 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटन मार्फत आर्थिक समृद्धि : मुख्यमन्त्री लामा



बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटन मार्फत आर्थिक समृद्धिको लक्ष्य राखिएको बताएका छन् । धादिङमा गंगा जमुना मेला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले प्रदेश सरकारले बागमतीका १३ वटै जिल्लामा पर्यटन विकास गर्ने र स्थानीयलाई पर्यटनसँगै आर्थिक विकासमा जोड्ने गरी काम गरिरहेको बताएका हुन् ।

पर्यटनको प्रचुर सम्भावना भएरपनि भौतिक पूर्वाधार विकास नहुँदा ओझेलमा परेका र दुर्गम मानिएका गाउँलाई सडक सञ्जालले जोडेर सुगम बनाउने मुख्यमन्त्री लामाको भनाई छ । पर्यटकीय क्षेत्र धादिङको गंगा जमुनालाई यस क्षेत्रकै सुन्दर पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।

संघियतापछि बागमतीका ११९ वटै स्थानीय तहमा विकासले गति लिएको मुख्यमन्त्री लामाको दावी छ । लामाले दिगो विकासका लागि योजनावद्ध विकास नीति अवलम्बन गरिएकाले डिपिआर बनाएर योजना सञ्चालन गर्नुपर्न बताएका छन् ।

गंगा जमुनाको पर्यटन प्रवद्र्धनका लागि आयोजित कार्यक्रममा प्रदेशका मुख्यमन्त्रीसहित पूर्वमन्त्री, सांसद, सिडिओ र स्थानीयतहका जनप्रतिनिधिसहित स्थानीयको उल्लेख्य उपस्थिती थियो ।

हरेक वर्ष हरिबोधनी एकादशीको दिन मेला लाग्ने धार्मिक तथा पर्यटकीय स्थल धादिङको गंगाजमुना मेला आज सुरु भएको छ । दिउँसो बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो । रातभर जाग्राम बसेका भक्तजनले एकादशीको दिन भोली कात्तिक २७ गते बिहान झरनाको फेदीमा स्नान गरी पूजाआजा गर्ने छन् ।

गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको पहराको टुप्पोबाट खस्ने गंगा र जमुना नामका दुई झरना छ । तीन सय मिटरमाथिबाट झर्ने यो झरनामा गएर नुहाउने र मनले चिताएको पुरा होस् भनेर आशीर्वाद माग्ने प्रचलन छ । झरना झरेको पहराको बीचमा रहेको मन्दिरमा गएर महादेवको पूजाआजा यस मेलामा गर्ने गरिन्छ ।

१३ सय वर्षअगाडि गंगा र जमुना नाम गरेका दुई छोरीहरू बेपत्ता भएको र परिवार खोज्दै जाँदा गुफाभित्रबाट हामी यही सुरक्षित छौं, हामीलाई यहीँ पूजापाठ गर्नुहोला भनेपछि उनै गंगा र जमुनाको सम्झनामा हरेक वर्ष गंगाजमुना माइको मेला सुरू भएको किम्बदन्ती छ ।

गंगा जमुनाको झर्ना संगै रहेको चट्टान भित्र टलक्क टल्कने रुविको मुखमा दुध र जल हालीदिने परमपरा धेरै पुरानो हो ।

हरेक वर्ष गंगा–जमुनामा विशाल मेला लाग्ने गर्दछ ।

फुलखर्क, गुम्दी, रि, लापा, सेर्तङ, मान्बु, सेर्तुङबास, केरौजा, चिसापानी सँगै रसुवाको लदाम, चिलिमे, लाङ्टाङ सँग जोडिन पुगेको गणेश पर्वत श्रृङ्खलाको १८०० मिटर उचाईमा रहेको छ ।

रुबी अर्थात बहुमुल्य पत्थरको पर्वतका रुपमा हेरिएको गणेश पर्वत श्रृङ्खलामा रहेको यस झर्ना पर्यटन, धार्मिक, साँस्कृतिक रुपमा महत्वपूर्ण रुपमा लिइन्छ ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक गन्तव्य गंगा जमुना झरना माथि रहेको प्राकृतिक भ्यूटावर जहाँबाट धादिङको साविकका सबै वडा, गोरखाको उत्तरी क्षेत्र, नुवाकोट रसुवाको अधिकाँश भुभाग, गणेश हिमाल र काठमाडौको चन्द्रागरीसम्म देख्न सकिन्छ ।

गंगा–जमुना झरनाको महत्वः

धार्मिक विश्वास अनुसार गंगा जमुना रहेको गणेश पर्वत श्रृखङ्ला गणेश शिव पार्वतीका पुत्र हुन् । शिव पार्वतीको निवास स्थान कैलाश पर्वत र गणेशको निवास स्थल यहि यहि हो भन्न परम्परा छ ।

ऋषि मुनिहरुको पवित्र तपो भुमिको रुपमा वर्णित यस सुरभ्य भुभागमा गंगाजमुना, तातोपानी जइसल कुण्ड लगायत तीर्थस्थलहरु प्राचीनकाल देखिनै श्रद्धा र विश्वास रहि आएको छ ।

गंगा जमुना झर्ना नजिकै अर्को धारा छ, जसलाई स्थानियहरु कुकुर धारा भन्ने गर्छन् । यस धारा गणेशको आँशुबाट बगेको यसमा कीट नाशक गुण समेत भएको विश्वास गरिन्छ । उक्त कुकुर धारामा नुहाए कुकुर वा जीव जन्तुले टोकेको विष हटेर जान जन विश्व रहि आएको छ ।

गंगा जमुना झरना २ हजार ८ सय मीटरको उचाईमा रहेको पहरोबाट खसेर १ हजार ८ सय मिटर उचाइमा रहेका तिर्थालुहरु जम्मा हुने सभा क्षेत्र आईपुगेको छ ।

१ हजार मिटर माथीबाट एकै पटक खस्दा पानीले झर्नाको रुप लिई पानीको थोपाहरु हावामा बयेली मोतीको दाना झै टल्कदै झरेको दृष्य पर्यटकहरुका लागि आकर्षक बन्ने गरेको स्थानीयहरु बताउँछन् ।

गंगा जमुनालाई हिमालय पुराणमा दिदी बहिनीको रुपमा वर्णन गरिएको पाईन्छ । यसै झर्ना मिसिएर भारतमा पुगी प्रसिद्ध गंगा नदी बनेको र यहाँको गंगा जमुनाले जस्तै त्यहाँ गंगा र यमुनाले प्रसिद्धि कमाएको बताईन्छ ।

प्रकाशित मिति : २०८१, २६ कार्तिक सोमबार ००:००  ९ : २३ बजे