रामेछाप । रामेछापको मन्थली नगरपालिकाको कार्यालय ‘सिल’ गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि थप संक्रमण फैलिन नदिन नगरपालिकालाई अनिश्चितकालका लागि सिल गरिएको जिल्ला प्रशासन कार्यालय रामेछापले जनाएको छ ।
बिहीबार धुलिखेल अस्पतालमा गरिएको पीसीआर परीक्षणमा २ जना र किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा १ जनामा कोरोनासंक्रमण देखिएको थियो । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णका अनुसार संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएकाहरुको पहिचान गर्ने कार्य भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासन अधिकृत रामप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा मन्थली नगरपालिकाबाट १४ दिनमा सेवा लिने सेवाग्राहीहरुलाई नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।