देशभरका महिला जनप्रतिनिधिमा बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा उत्कृष्ट भएकी छन् । देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुबाट छानिएर अध्यक्ष थापा ‘सी लिड्स आइकन’ बनेकी हुन् ।
कल्प इम्पावर वेमेन नेपालले महिला जनप्रतिनिधिहरुले गरेको कामका आधारमा विभिन्न चरणमा मूल्याङ्कन गरेर अवार्ड दिएको छ । १२८ प्रतिस्पर्धीबाट निर्णायक मण्डलले २७ जना सर्टलिष्टमा छानेको थियो । जसमा तीन जना स्थानीय तह प्रमुख र बाँकी उपप्रमुख थिए ।
सर्टलिष्टमा परेका मध्यबाट तीन उत्कृष्ट महिला जनप्रतिनिधि छानिएका छन् । बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, बैतडीको सिगास गाउँपालिका उपाध्यक्ष धाना धामी र बाजुराको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा शी लिड्स आइकन अवार्डबाट सम्मानित भएका छन् ।
शी लिड्स आइकनहरुलाई प्रधानमन्त्री केपी ओलीबाट अवार्ड हस्तान्तरण गरिएको छ ।
“महिला स्वास्थ्य, महिला उद्यमशिलता, नीति र न्याय, सशक्तिकरण र जवाफदेहित” क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने ३ जना महिला जनप्रतिनिधीलाई सम्मान गर्दै महिला जनप्रतिनिधिको सुकर्मलाई विश्व सामु पुर्याउने उदेश्यले सुरु भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थानीय तहको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताए ।
हिजो छोरीहरुको साक्षरताको स्तरमाथि आउन नसकेकामा आज महिला शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको ओलीको भनाई थियो ।
शी लिड्स आइकनबाट सम्मानित बडिगाड गाउँपालिका, अध्यक्ष गण्डकी थापा अधिकारीले अवार्डले थप जनपक्षिय काम गर्ने प्रेरणा मिलेको बताइन् ।