२०८१, २२ पुस सोमबार | Tue Jan 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुर्गम गाउँकी अगुवा गण्डकी : देशकै उत्कृष्ट ‘सी लिड्स आइकन’

को हुन् आइकन् जित्ने अधिकारी ?



विकट जिल्ला बाग्लुङको दुर्गम गाउँ बडिगाडकी अगुवा गण्डकी थापा अधिकारीले देशभरकै उत्कृष्ट महिला जनप्रतिनिधिको अवार्ड जितेकी छन् । बडिगाड गाउँपालिका अध्यक्ष अधिकारी देशभरका महिला जनप्रतिनिधि मध्ये उत्कृष्ट कार्यसम्पादन गर्ने, सामाजिक योगदानमा सवल र योजना निर्माणमा अब्बल ठहरिँदै ‘सी लिड्स आइकन’ को अवार्ड जित्न सफल भएकी हुन् ।

कल्प इम्पावर वेमेन नेपालले महिला जनप्रतिनिधिहरुले विशेषगरी महिला र बालबालिकाको क्षेत्रमा र समग्रतामा गरेको कामका आधारमा विभिन्न चरणमा मूल्याङ्कन गरेर अवार्ड दिएको छ । १२८ प्रतिस्पर्धीबाट निर्णायक मण्डलले २७ जना सर्टलिष्टमा छानेको थियो । जसमा तीन जना स्थानीय तह प्रमुख र बाँकी उपप्रमुख थिए ।

सर्टलिष्टमा परेका मध्यबाट तीन उत्कृष्ट महिला जनप्रतिनिधि छानिएका छन् । बागलुङको बडिगाड गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी, बैतडीको सिगास गाउँपालिका उपाध्यक्ष धाना धामी र बाजुराको गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा शी लिड्स आइकन अवार्डबाट सम्मानित भएका छन् ।

शी लिड्स आइकनहरुलाई प्रधानमन्त्री केपी ओलीबाट अवार्ड हस्तान्तरण गरिएको छ ।

“महिला स्वास्थ्य, महिला उद्यमशिलता, नीति र न्याय, सशक्तिकरण र जवाफदेहित” क्षेत्रमा प्रेरणादायी र उत्कृष्ट कार्य सम्पादनको नेतृत्व गर्ने ३ जना महिला जनप्रतिनिधीलाई सम्मान गर्दै महिला जनप्रतिनिधिको सुकर्मलाई विश्व सामु पुर्याउने उदेश्यले सुरु भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा प्रधानमन्त्री ओलीले स्थानीय तहको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको बताए ।

हिजो छोरीहरुको साक्षरताको स्तरमाथि आउन नसकेकामा आज महिला शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको ओलीको भनाई थियो ।

शी लिड्स आइकनबाट सम्मानित बडिगाड गाउँपालिका, अध्यक्ष गण्डकी थापा अधिकारीले अवार्डले थप जनपक्षिय काम गर्ने प्रेरणा मिलेको बताइन् ।

को हुन् आइकन् जित्ने अधिकारी ?

गुल्मीको चन्द्रकोट गाउँपालिका धुँवाखर्कमा २०३७ सालमा जन्मीएकी थापा सानैदेखि सामाजिक र राजनैतिक वातावरणमा हुर्किएकी थिइन् । थापाले २०५४ सालमा शान्तिपुरको उदय उच्च माध्यमिक विद्यालयबाट एसएलसी उत्तिण गरिन् । वैवाहिक जीवनमा बाँधिएर बागलुङको बडिगाड गाउँपालिका ७ भिमगिठे आएकी उनले उत्तरगंगा माध्यमिक विद्यालय बुर्तिबाङबाट उच्च शिक्षा,निशिभुजी जनता क्याम्पसबाट ब्याचलर र तानसेन बहुमुखी क्याम्पसबाट मास्टर्सको अध्ययन पुरा गरेकी छन् ।

यसबीचमा अध्यापनमा समेत सक्रिय उनले २०७४ सालमा शिक्षण पेशाको स्थायी जागिर छाडेर गाउँपालिका प्रमुखमा उम्मेदवारी दिएकी थिइन् । विद्यार्थीकालबाटै सांस्कृतिक सघं,नेपाल विद्यार्थी सघं लगायतका भातृ संस्थामा आबद्ध रहेर काम गरेकी उनी सानैदेखि प्रखर वक्ताको रुपमा परिचित छिन् ।

२०५४ सालमा नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएकी उनले नेपाल महिला सघं बागलुङको उपाध्यक्ष भएर २ कार्यकाल काम गरिसकेकी छन् । त्यस्तै नेपाली कांग्रेसको जिल्ला सदस्य, जिल्ला सहसचिव, महाधिवेशन प्रतिनिधि हुँदै जिल्ला सचिव समेतको जिम्मेवारी सम्हालेको अनुभव छ ।

२०५४ साल देखि २०६३ पौषसम्म अस्थायी शिक्षण पेशा गर्दै आएकी थापाले २०६३ सालदेखि २०७४ सालसम्म स्थायी शिक्षण पेशा गर्दै गर्दा शिक्षण पेशाबाट राजीनामा दिएर २०७४ सालको स्थानीय तह निर्वाचनमा प्रमुख पदमा उम्मेदवारी दिएकी थिइन् । २०७४ मा गाउँपालिका अध्यक्षको उम्मेदवार बनेकी थापा झिनो मतले पराजित भएपछि लगातार जनताको बीचमा रहेर काम गरेकी थिइन् । २०७९ को निर्वाचनमा भने बडिगाडका जनताले भारी मतान्तरले विजयी गराएका छन् ।

यसबाहेक उनले विभिन्न सामाजिक क्षेत्रमा तथा संघसंस्थामा पनि आबद्ध रहेर क्रियाशिल हुँदै आएकी छन् । जिल्लामा हुने विभिन्न बाढी,पहिरो लगायतका प्राकृतिक विपत्तिहरुमा उद्धार तथा राहत वितरण, कोरोना महामारीमा विभिन्न सामाजिक सघंसंस्थाको पहलमा स्वास्थ्य सामाग्री वितरण गर्ने, रेडक्रस मार्फत विभिन्न दैविप्रकोपहरुमा सहयोग गर्ने तथा सडक महिलाहरुलाई उद्धार गर्ने कार्य सक्रिय रहँदै आएकी छन् ।

उनी नेपाल रेडक्रस सोसाईटीको २ कार्यकाल सहमहामन्त्री, सिवाईसी साकोसको केन्द्रीय उपाध्यक्ष, चारतारे युवा क्लवको सहसचिव, नेपाल शिक्षक युनियनको जिल्ला नेतृत्वमा रहेर समेत काम गरेकी उनले पदिय जिम्मेवारीको अलवा जिल्लामा सामाजिक अभियानहरु सञ्चालन गरिरहेकी छन् ।

बडिगाड गाउँपालिकालाई देशकै नमुना पालिका बनाउने चुनावी एजेण्डा बोकेर जनताको बीचमा गएकी थापाले छोटो समयमा पालिकालाई समृद्धिको यात्रामा अघि बढाएकी छन् ।

महिलाले नेतृत्व गरेका पालिकाहरु देशकै उत्कृष्ट पालिका बन्छन् भन्ने गतिलो उदाहरण दिएकी थापाले भौतिक, आर्थिक र सामाजिक विकाससँगै शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेकी छन् । महिलाहरुलाई आयआर्जनसँग जोड्न विभिन्न घरेलु उद्योग एवम् सीपमुलक कार्यक्रम सञ्चालन, निम्न आय भएका परिवारहरुलाई आर्थिक रुपमा सक्षम बनाउन विभिन्न कार्यक्रमहरु सञ्चालन र जनमुखी कामहरु अध्यक्ष थापाको प्राथमिकतामा छन् ।

गर्वलाग्दो विगत, भरलाग्दो वर्तमान र आश लाग्दो भविष्य बोकेकी थापा राजनीतिमा सफल र अब्बल महिला नेतृ हुन् ।

प्रकाशित मिति : २०८१, २० पुस शनिबार ००:००  १० : ४७ बजे