खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकामा यसवर्षको हरितालिका तीज सामुहिक रुपमा मनाउन नपाइने भएको छ । कोरोना भाइरसको जोखिम फैलन सक्ने भन्दै गाउँपालिकाले आ–आफ्नो घरभित्रै परिवारसँग बसेर तीज पर्व मनाउन आग्रह गरेको हो ।
गाउँपालिका उपाध्यक्ष कविता राईले एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्ति बाहेक अन्यसँग भेटघाट नगरि तीज पर्व मनाउन आग्रह गरिन् । उपाध्यक्ष राईले अनलाइन सरोकारसँग भनिन्, ‘कोरोना भाइरस अझै नियन्त्रणमा आइनसकेकाले तीजमा हुने जमघट तथा भिडभाड कम गर्न हामीले यस्तोे आग्रह गरेका हौं । यस्तो बेलामा भीडभाडका साथ मनाउँदा जोखिम बढ्न सक्छ, यस बारेमा पनि हामी सबै सचेत बन्नुपर्छ ।’
कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि चाडपर्व मनाउँदा भीडभाड नहुने किसिमले मनाउन उनको अनुरोध छ । उनले कोरोना जोखिमलाई मध्यनजर गर्दै यस वर्षको तीज पर्व घर घरमै बसेर मनाउन महिला दिदीबहिनीहरूलाई आग्रह गरिन् ।
साथै, गाउँपालिका भित्र लाग्ने हाटबजार पनि केही समयका लागि बन्द गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले अनावश्यक भीडभाड तथा जमघट नगर्न, आवश्यक कामका लागि बजार क्षेत्रमा जान परे सामाजिक दुरी कायम गर्न, मास्क, पञ्जा, स्यानीटाइजर लगायतका सामग्रीको प्रयोग गर्न समेत आग्रह गरेको छ ।