२०८१, १५ फाल्गुन बिहीबार | Thu Feb 27 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति पौडेल ‘बख्खुमा सजिए, फेम्बर काट्दै लोसार मनाए’



राष्ट्रपति रामचन्द्र पौडेलले बख्खुमा सजिएर फेम्बर काट्दै ग्याल्पो लोसार मनाएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ‘२१५२ सिङ मो डुल लो ग्याल्पो लोसार’ को अवसरमा यसरी लोसार मनाएको हो ।

नेपाल शेर्पा संघ र शेर्पा कार्यक्रम आयोजकको संयूक्त आयोजनामा राष्ट्रपति कार्यालयमा आयोजित ग्याल्पो लोसार शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति शेर्पा पोशाक बख्खुमा सजिएर फेम्बर (विशेष प्रकारको परिकार) काटेर लोसार मनाएको कार्यक्रम आयोजक नुरु शेर्पाले जानकारी दिए ।

शेर्पा समुदायको विशिष्ठ व्यक्तिहरुको उपस्थितीमा भएको कार्यक्रममा शेर्पा संस्कृतिमा आधारित श्याब्रु, शिली नृत्य प्रस्तुत गरिएको थियो । त्यस्तै, शेर्पा कलाकारहरुले शेर्पा भाषामा लोसारका गीतहरु गाएर शेर्पा समुदायको भाषा, संस्कृतिको बारेमा उजागर गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले ग्याल्पो लोसार जस्ता चाडपर्वले सबै नेपालीवीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भाव बृद्धि गर्ने’ विश्वास व्यक्त गरे । राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँदै आपसी भाइचाराको नाता, राष्ट्रिय एकता समेत प्रगढ बनाउन ग्याल्पो लोसार जस्ता चाडहरुले विशेष भूमिका रहने राष्ट्रपति पौडेलको भनाइ थियो ।

राष्ट्रपति पौडेलले नेपालीहरुवीच सदियौंदेखिको भातृत्वलाई अझ बलियो बनाउँदै समृद्ध राष्ट्र निर्माणमा समेत ग्याल्पो लोसारले प्रेरणा मिलोस भन्ने कामना गरे । कार्यक्रममा नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पाले आदिवासी जनजातिहरुको प्रथाजनित कानून, मूल्य मान्यताहरुलाई संस्थागत गर्दै पहिचान, सभ्यतालाई सुृदृढ र संरक्षण गर्नु राज्यको दायित्व रहेकाले यसतर्फ सोच्नुपर्नेमा जोड दिए । अध्यक्ष शेर्पाले नेपालमा शेर्पा जातिको विशेष पहिचान रहेको र राष्ट्र निर्माणमा शेर्पाहरुले पर्वतीय पर्यटन लगायतको माध्यमबाट खेलेको भूमिकाको राज्यले समयसापेक्ष मूल्याङ्कन गर्दै प्रोत्साहन गर्नुपर्ने बताए । उत्पीडित वर्ग, क्षेत्र, लिङ्ग र पछाडि पारिएका हिमाली शेर्पा जातिहरुको सन्दर्भमा राज्यलाई गम्भिर बनाउन ग्याल्पो लोसार जस्ता मौलिक चाडपर्वहरुले प्रेरणा मिल्नुपर्ने भनाइ राख्नु भयो ।

कार्यक्रममा पूर्वमन्त्री आङ छिरिङ शेर्पा लगायत शेर्पा समुदायका संघसंस्थाका प्रतिनिधि, प्रबुद्ध व्यक्तित्वहरुको वाक्लो उपस्थिती रहेको थियो । शेर्पा समुदायले यस बर्ष फागुन १५ गते (आज) गुथुक र फागुन १६ गते नयाँ बर्षको स्वागत गर्दै भव्यताका साथ लोसार मनाउँछन् । यो क्रम चैत्र १ गतेसम्म चल्ने जनाइएको छ ।

प्रकाशित मिति : २०८१, १५ फाल्गुन बिहीबार ००:००  ६ : ३७ बजे