२०८२, २३ बैशाख मंगलबार | Tue May 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अव्यवस्थित शहरीकरण विश्वमै समस्याः परराष्ट्रमन्त्री



परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले बढ्दो अव्यवस्थित शहरीकरणले विश्वमै समस्या ल्याएको र एसिया तथा प्रशान्त क्षेत्र पनि यसबाट प्रभावित हुनुपरेको बताएकी छन् । बैङ्ककमा आजदेखि सुरु संयुक्त राष्ट्रसङ्घीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (युएनस्केप) को ८१औँ सत्रको अध्यक्षतापछि दिनुभएको मन्तव्यमा उनले यस क्षेत्रले कैयौँ गम्भीर चुनौतीहरूको सामना गरिरहेको र तीमध्ये अव्यवस्थति शहरीकरण पनि एक रहेको बताएकी हुन् ।

‘एसिया र प्रशान्त क्षेत्रमा सहनशील र दिगो शहरी विकास’ विषयक  सत्रलाई सम्बोधन गर्दै  परराष्ट्रमन्त्री डा राणाले भनिन्, ‘शहरी क्षेत्रहरू विकास, नवप्रवर्तन र अवसरका इञ्जिन पनि हुन् । तर योजनाविहीन शहरीकरणले धेरै समस्याहरु निम्त्याइरहेको छ । त्यसैले हामीले राम्रोसँग योजनाबद्ध शहरी विकास गर्नुपर्छ ।’ उनले वातावरणमैत्री र दिगो शहरी विकासमा जोड दिँदै यसका लागि समावेशी र हरित शहरहरूमा लगानी वृद्धि गर्नुपर्ने बताइन् । 

मन्त्री डा राणाले एसिया तथा प्रशान्त क्षेत्रमा वित्तीय जोखिम र सीमा, दिगो पूर्वाधारका क्षेत्रमा लगानीको अभाव, व्यापारको खण्डीकरण र संरक्षणवादी प्रवृत्ति, ‘डिजिटल डिभाइड’जस्ता समस्या देखिएकाले डिजिटल डिभाइडका कारण शहरी र ग्रामीण समुदायबीचको सम्बन्धमा ठूलो खाडल पैदा भएकाले यसको सम्बोधन गर्नेतर्फ हामी सबैको ध्यान जानुपर्नेमा धारणा राखिन् ।

वर्तमान अवस्थाको समाधान, भोलिको पुस्ताको भविष्य एवं समग्र पृथ्वीकै सुरक्षालाई सुनिश्चित गर्न नेपालले पनि यस क्षेत्रमा कदम चालिरहेको उनले बताइन् । मन्त्री डा राणाले आगामी ‘मे’मा नेपालले आयोजना गर्न लागेको सगरमाथा संवादमार्फत जलवायु परिवर्तनको अवस्था र यसका चुनौतीको समाधानका लागि पहल गर्ने विश्व समुदायलाई जानकारी दिइन् ।

प्रकाशित मिति : २०८२, ८ बैशाख सोमबार ००:००  २ : ४९ बजे