२०८२, १२ जेठ आइतबार | Mon May 26 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अवैज्ञानिक विकासले देश बन्दैन : मुख्यमन्त्री लामा



बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले अवैज्ञानिक विकासले देश बन्न नसक्ने बताएका छन् । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले काठमाडौंमा आयोजना गरेको संघीयताको कसीमा आर्थिक वर्ष २०८२-०८३ को बजेट तर्जुमा सम्बन्धि अन्तरक्रियालाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले वैज्ञानिक विकासले मात्रै मुलुकको विकास सम्भव हुने बताएका हुन् ।

योजना तर्जुमाकै चरणमा विशेष ध्यान दिन नसक्दा सरकारको प्रगति नदेखिने समस्या बढ्दा आम नागरिकमा आक्रोश पैदा हुने भएकाले कार्यान्वयन गर्न नसक्ने योजना बनाउनु नहुने उनको भनाई थियो । लामाले विशेषगरी शहरी क्षेत्रमा एउटा आयोजनाले बनाएको अर्को आयोजनाले भत्काउने र फेरि बनाउँदा दोहोरो–तेहेरो खर्च हुने तर विकास दिगो नहुने समस्या रहेकाले यसलाई सुधार गर्न सुझाव दिए ।

संघीयता लागू भएपनि संघीय सरकारले प्रदेश र स्थानीय तहलाई अधिकार नदिँदा संघीयताको मर्म अनुरुप काम गर्न समस्या भईरहेको मुख्यमन्त्री लामाको भनाई थियो ।

निजि क्षेत्रका लगानीकर्ता ल्याउन प्रदेशलाई अधिकार नभएको र लगानीमैत्री वातावरण बनाउन नसक्दा विकास सुस्ताएको उनको भनाई थियो ।

‘देश विकास गर्न सबैको ऐक्यवद्धता चाहिन्छ, दोष लगाएर मात्रै मुलुक बन्दैन’ लामाले भने, ‘निजी क्षेत्रले एकै महिनामा देखिनेगरी काम गर्छन् । दिगो र भरपर्दो पनि हुन्छ तर सरकारले एउटै काम गर्न महिनौं लगाएर योजना बनाउँछ करोडौं खर्चिन्छ तर न दिगो हुन्छ न राम्रो बन्छ त्यसैले योजना निर्माण प्रकृयामै समस्या छ यसलाई सुधारौं ।’ बागमती प्रदेश सरकारले आगामी वर्षको बजेट बनाउँदा विज्ञसँग परामर्श गर्ने र आवश्यकताका आधारमा कार्यान्वयन हुने मात्रै योजना बनाएर लागू गर्ने उनको भनाई थियो ।

प्रकाशित मिति : २०८२, १ जेठ बुधबार ००:००  १ : ०९ बजे