२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दिवासद्वारा एक अर्ब २२ करोड ४० लाखको बजेट सार्वजनिक



बर्दिवास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि रु एक अर्ब २२ करोड ४० लाख १० हजारको बजेट प्रस्तुत गरेको छ । नगरसभाको १६ औँ अधिवेशनमा उपप्रमुख तारादेवी महतोले पूर्वाधार विकास, वडास्तरीय योजना र सामाजिक क्षेत्रलाई प्राथमिकता दिँदै बजेट सार्वजनिक गरेकी हुन् ।

उक्त बजेटको स्रोत भने वित्तीय समानीकरण अनुदान सङ्घीय सरकारबाट रु ८७ करोड ४५ लाख ५८ हजार ५१० र प्रदेश सरकारबाट रु चार करोड ५३ लाख ६३ हजार ७२०, आन्तरिक आयतर्फबाट रु २५ करोड ४० लाख ८७ हजार ७७० प्राप्त हुने अनुमान तथा सङ्घीय सरकार र मधेस प्रदेश सरकार तथा नगरपालिकाको आन्तरिक आयबाट कूल चालु आव २०८१÷८२ बाट बचत भई अनुमानित मोज्दात रु पाँच करोड गरी अनुमानित बजेट पेस गरिएको छ ।

यस्तै चालु बजेटतर्फ नगरपालिकाको कार्यालय, वडा कार्यालय कार्य सञ्चालन तथा अन्य प्रशासनिक एवं पुँजीगत खर्चतर्फ रु २३ करोड ६३ लाख विनियोजन गरिएको छ भने बर्दिवास अस्पताल, स्वास्थ्यचौकी तथा आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत करार तथा ज्यालादारी कर्मचारीको तलब भत्ता एवं अन्य स्वास्थ्य उपकरण, औषधि खरिदलगायतका कार्यका लागि रु छ करोड ३२ लाख ७५ हजार विनियोजन गरिएको छ ।

त्यसैगरी पुँजीगत तथा विकास बजेटतर्फ नगरका विभिन्न सडक कालोपत्र ढलान तथा स्तरोन्नति गर्न सडक निर्माणतर्फ रु पाँच करोड छ लाख १५ हजार तथा सङ्घीय सरकारको समपूरकअन्तर्गतका योजनामा कार्यालयबाट लागत साझेदारी गर्न नगरपालिकाको ‘म्याचिङ फण्ड’मा रकम रु तीन करोड प्रस्ताव गरिएको छ ।

शिक्षातर्फमा रु दुई करोड ५० लाख, खेलकुदका लागि रु ४० लाख विनियोजन प्रस्ताव गरिएको छ । खानेपानी तथा सरसफाइतर्फ रु ८५ लाख, जलश्रोत तथा सिँचाइतर्फ रु ६८ लाख, पर्यटनतर्फ रु ४० लाख, भवन तथा सहरी विकासतर्फ रु दुई करोड विनियोजन गरिएको छ ।

लैङ्गिक समावेशीकरण तथा सशक्तीकरणतर्फ रु एक करोड ७८ लाख, सहकारीतर्फ रु पाँच लाख, कृषि पशुपंक्षीतर्फ रु चार करोड, न्यायिक समितितर्फ रु १० लाख, विपद् व्यवस्थापनतर्फ रु ८१ लाख ७५ हजार, ऊर्जा तथा ग्रामीण विद्युतीकरणमा रु १२ करोड २५ लाख ४५ हजार विनियोजन गरिएको उपप्रमुख महतोले पेस गर्नुभएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

बजेटको सन्दर्भमा नगर प्रमुख प्रह्लादकुमार कार्कीले राजनीतिक दल, उद्योगी, व्यवसायी र नागरिक समाजसँगको बृहत् छलफल र सहमतिबाट बजेट निर्माण गरिएको बताए । उनले यो बजेटले समृद्ध नगर बनाउने अभियानमा सघाउ पु¥याउने विश्वास व्यक्त गरेका छन् ।  

प्रकाशित मिति : २०८२, १० असार मंगलबार ००:००  ९ : ४३ बजे