२०८२, २४ असार मंगलबार | Tue Jul 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्यटनलाई प्राथमिकता दिँदै पातारासीले ल्यायो ४३ करोड ५८ लाख बजेट



जुम्लाको पातारासी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ४३ करोड ५८ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आगामी वर्षको नीति तथा कार्यक्रम गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले गाउँसभा समक्ष प्रस्तुत गरेकी हुन् ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बोहराका अनुसार आगामी वर्षको बजेट निर्माण गर्दा पर्यटन, कृषि, शिक्षा र भौतिक पूर्वाधारलाई उच्च प्राथमिकतामा राखिएको छ। विकास र समृद्धिको आधारभूत पाटोका रूपमा यी क्षेत्रलाई समेट्दै बजेट कार्यान्वयन गरिने उनको भनाइ छ।

विश्वकै अग्लो धान उत्पादन क्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्य
पर्यटनलाई मुख्य आयस्रोतको रूपमा विकास गर्ने रणनीतिअनुसार गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटक आकर्षणका लागि विशेष योजना अघि सारेको छ। विशेषगरी विश्वको अग्लो स्थानमा मार्से धान उत्पादन हुने क्षेत्रका रूपमा प्रसिद्ध छुमचौँर ज्युउलो क्षेत्रलाई पर्यटकीय केन्द्रका रूपमा विकास गरिने लक्ष्य राखिएको छ।

यससँगै, प्राकृतिक सौन्दर्यले भरिपूर्ण शंखर झरना, स्थानीय ताल–तलैया, मठ–मन्दिर तथा सांस्कृतिक सम्पदाहरूको संरक्षण र विकासका लागि छुट्टै कार्यक्रम समेटिएको अध्यक्ष बोहराले जानकारी दिए ।

स्थानीय उत्पादनमा आत्मनिर्भरता बढाउन कृषि यान्त्रीकरण, सिँचाइ सुविधा विस्तार र बिउ तथा मलको सुनिश्चितताका लागि कार्यक्रम सञ्चालन गरिने बताइएको छ। त्यस्तै, शिक्षा क्षेत्रमा शिक्षालयको भौतिक सुधार, गुणस्तरीय शिक्षा प्रवर्द्धन तथा डिजिटल प्रविधिको प्रयोगलाई प्राथमिकतामा राखिएको छ।

गाउँपालिकाका दुर्गम बस्तीहरूलाई सडक सञ्जालमा जोड्ने, पुल–पुलेसा निर्माण गर्ने र खानेपानी तथा विद्युत् जस्ता आधारभूत सुविधामा पहुँच पुर्‍याउने योजनाहरू पनि बजेटमा उल्लेख गरिएका छन् ।

गाउँपालिकाले प्रस्तुत गरेको यो नीति तथा कार्यक्रमले स्थानीय जनताको जीवनस्तरमा सुधार ल्याउने, रोजगारी सिर्जना गर्ने र पातारासीलाई पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ ।

प्रकाशित मिति : २०८२, १३ असार शुक्रबार ००:००  ११ : ३४ बजे