जिल्ला अस्पताल खोटाङमा जन्मिएको शिशुको काठमाडौंमा लगेर उपचार गर्ने क्रममा मृत्यु भएको छ। शल्यक्रियाबाट जन्मिएको शिशुलाई श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको थियो।
शिशुलाई समस्या देखिएपछि गर्भवतीका लागि राष्ट्रपति हवाई उद्धार कार्यक्रमअन्तर्गत आमासँगै शिशुलाई हेलिकप्टरबाट काठमाडौं लगिएको थियो। जिल्ला अस्पतालमा सोमबार शल्यक्रियाबाट जन्मिएको शिशुको काठमाडौंको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको हो।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क मालाका जानुका खत्री र सर्वकुमार खत्रीको दोस्रो सन्तानका रूपमा जन्मिएको शिशुको उपचारका क्रममा मृत्यु भएको आफन्तले बताएका छन्। उद्धार गरिएको शिशुको मृत्यु भए पनि आमाको स्वास्थ्य सामान्य रहेको जनाइएको छ।
जन्मिएलगत्तै श्वासप्रश्वासमा जटिल समस्या देखिएपछि थप उपचारका लागि शिशुलाई आमासँगै काठमाडौं पठाइएको अस्पतालका प्रमुख डा. रुपेश सङ्ग्रौलाले बताए। जन्मने समय एक हप्ता नाघेपछि पनि व्यथा नलागेपछि शल्यक्रियाबाट बच्चा निकालिएको अस्पतालले जनाएको छ। तीन पटकसम्म औषधि चलाउँदा समेत व्यथा नलागेपछि शल्यक्रिया गरिएको डा. सङ्ग्रौलाले बताए। शिशुको मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीको लापरबाहीले घटना भएको आरोप लगाउन थालेका छन्।
गत असार २२ गते ५० शय्यामा स्तरोन्नति गरिएको जिल्ला अस्पतालमा दक्ष जनशक्ति र आवश्यक उपकरण नहुँदा उपचारमा आउने बिरामीका लागि दैनिकजसो हेलिकप्टर चार्टर गरेर अन्यत्र लैजानुपर्ने बाध्यता छ। बिना पूर्वाधार कोशी प्रदेश सरकारका स्वास्थ्य तथा भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले १५ शय्यामा सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति भएको घोषणा गरेपछि नै आलोचना सुरु भएको थियो।
विक्रम संवत् २०४९ वैशाख १ गते स्थापना भएको १५ शय्याको अस्पताललाई ५० शय्यामा स्तरोन्नतिका लागि निर्माणाधीन भवन अलपत्र अवस्थामा छ।