रुसको सुदूर पूर्वमा रहेको कामचट्का प्रायद्वीपमा बुधबार बिहान गएको ८.८ म्याग्निच्युडको भूकम्पले गर्दा धेरै मानिसहरू घाइते भएका छन्। अमेरिकी जियोलोजिकल सर्भेका अनुसार यो भूकम्प पेट्रोपाभलोभ्स्क(कामचत्स्कीबाट करिब १२६ किलोमिटर (७८ माइल) टाढा १८ किलोमिटर गहिराइमा गएको थियो।
क्षेत्रीय आपत्कालीन मामिला मन्त्री सर्गेई लेबेदेवका अनुसार यस भूकम्पले कामचट्कामा ३-४ मिटर अग्लो सुनामी उत्पन्न गरेको छ। रुसको सरकारी समाचार संस्था तासका अनुसार, केही मानिसहरू भाग्ने गर्ने क्रममा घाइते भएका छन्, जसमा झ्यालबाट हाम फालेकी एक महिला पनि छिन्।
यस क्षेत्रका स्वास्थ्य मन्त्री ओलेग मेल्निकोभले सबै घाइतेहरूको अवस्था ‘सामान्य’ रहेको बताएका छन्। उनले भने, ‘यस समयमा कुनै गम्भीर चोटपटकको खबर आएको छैन।’
बुधबार कामचट्का प्रायद्वीपमा गएको यो भूकम्प सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली हो, र अधिकारीहरूले ‘शक्तिशाली पराकम्प’ को चेतावनी दिएका छन्।
रुसी विज्ञान एकेडेमीको भूभौतिकीय सेवाको कामचट्का शाखाले चेतावनी दिएको छ, ‘७.५ म्याग्निच्युडसम्मका पराकम्प कम्तीमा अर्को एक महिनासम्म जारी रहने अपेक्षा गरिएको छ।’
विगत १० दिनदेखि नै यस प्रायद्वीपमा भूकम्पका शृङ्खलाहरू आइरहेका छन्। जुलाई २० मा, कामचट्काको राजधानी पेट्रोपाभलोभ्स्क(कामचत्स्की नजिकै ७.४ म्याग्निच्युडको भूकम्पसहित पाँचवटा भूकम्पको शृङ्खला रेकर्ड गरिएको थियो।












