सिन्धुलीका ३८ वर्षीय रामबहादुर नाम (परिर्वतन) काठमाडौंमा सामान्य मजदुरी गर्थे । दश वर्षअघि विवाह गरेका रामबहादुरको वैवाहिक जीवन लामो समय चल्न सकेन ।
सामान्य मजदुरी गर्ने रामबहादुरलाई श्रीमतीले छाडिन् । उनी कहिले घर बनाउने काममा त कहिले सडक खन्ने काममा ब्यस्त हुने थाले । मजदुरी गर्न नपाएको दिन उनलाई दैनिक छाक टार्नसमेत समस्या पर्थ्यो ।
यसरी दैनिक कामको खोजीमा भौतारिँदै हिँड्ने रामबहादुरको भेट गएको जेठमा काभ्रे पाँचखालका ३५ वर्षीय कुमार भन्ने राजकुमार परियारसित भयो ।
राजकुमारले रामबहादुरलाई काठमडौंमा काम गरेर खान गाह्रो भएको भए भारतको एक होटेलमा महिनाको १० देखि २० हजार भारु रुपैयाँ कमाई हुने ठाउँमा जागिर लगाइदिने आश्वासन दिए ।
काठमाडौंमा मजदुरीबाट दैनिक छाक टार्न हम्मेहम्मे परेका रामबहादुरलाई राजकुमारको प्रस्तावले आकर्षित गर्यो । रामकुमारसितको भेटपछि हौसिएका उनी एक सातामै भारत पुगे ।
कोटेश्वर हुँदै भारत हिँडेका उनीहरू बुटबल, भैरहवा, सुनौली हुँदै भारतको चण्डीगढ पुगे । होटेलमा जागिर पाउने आशले चण्डीगढ पुगेका रामबहादुरलाई राजकुमारले एक अपार्टमेन्टमा राखे ।
त्यहाँ राजकुमारकै साथीहरू नुवाकोट बेलकोटगढी नगरपालिका–९ का २४ वर्षीय समिर नेपाली र त्यहीँका ४७ वर्षीय राकेश नेपाली पनि थिए । रामकुमारलाई उनीहरूले होटेलमा काम गर्न स्वास्थ्य जाँच गर्नुपर्ने भन्दै अमार्टमेन्टनजिकैको क्लिनिक पुर्याए ।
त्यहाँ रामबहादुरको मृगौला जाँच भएको थियो । तर, रामकुमारले त्यसबारे भेऊ पाएनन् । उनलाई होटेलमा काम गर्न केही समय आराम गर्नुपर्ने र पौष्टिक खाना खानुपर्ने देखिएको भन्दै आराम गर्नुपर्ने सल्लाह दिए । त्यसका लागि सबै आफूहरूले व्यवस्थापन गर्ने समिर र राकेशले बताए ।
अपार्टमेन्टको बसाई र खानपिन सबै उनीहरूले गर्ने भनेपछि रामकुमार आराम गर्न राजी भए । तर, एक महिना लामो अपार्टमेन्टको बसाईपछि भने उनीहरूले रामकुमारलाई होटेलमा काम खोज्नेभन्दा मृगौला निकाल्दा फाइदा हुने भन्दै प्रलोभन देखाउन थाले ।
रामबहादुर त्यसमा पनि सहमत भए । उनी आफ्नो एउटा मृगौला निकाल्न तयार भए । समिर र राकेशले मृगौला बिक्री गरेवापत ६ लाख नेपाली रुपैयाँ आउने प्रलोभन दिए । रामकुमारले साउन ९ गते आफ्नो एउटा मृगौला बिक्री गरे । उनलाई रकम नेपालमै दिने भन्दै चण्डीगढबाट काठमाडौं फर्काए ।
रामबहादुर जस्तै मृगौला बिक्री गरेर फर्किने चारजना थिए । उनीहरूलाई पनि रामबहादुरलाई जस्तै प्रभावमा पारेर भारत पुर्याएका थिए । नेपाल फर्किंदा उनीहरू सबैले मृगौला बिक्री गरी फर्किए ।
जब नेपाल फर्किए…
एउटा मृगौला बराबर ६ लाख रुपैयाँ दिने वाचा गर्ने व्यक्तिहरू काठमाडौं आइपुगेपछि सम्पर्कविहीन भए । उनीहरूले अरुलाई पनि रकम दिएका थिएनन् ।
रामबहादुरसहित चारजना आफूहरू मृगौला तस्करको जालोमा परेको भन्दै प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरो पुगे । साउन १५ गते प्रहरीमा जाहेरी दिएपछि ब्युरोले मृगौला तस्करी गर्ने गिरोहबारे अनुसन्धान थाल्यो ।
ब्युरोको टोलीले पीडितको जाहेरीका आधारमा बुधबार समिर नेपाली र राकेश नेपालीलाई पक्राउ गरेको छ । बिहीबार थप अर्का आरोपी राजकुमारलाई ब्युरोको टोलीले पक्राउ गरेको छ ।
उनीहरू तीनैजनाविरुद्ध ब्युरोले संगठित रूपमा मृगौला तस्करी गरेको देखिएपछि संगठित अपराधमा अनुसन्धान थालेको छ । ब्युरोका एसपी नरेन्द्र कुँवरले उनीहरूमाथि बिहीबार अदालतबाट सात दिनको म्याद थपी अनुसन्धान थालेको बताए ।
ब्युरोको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका उनीहरू लामो समयदेखि मृगौला तस्करीमा लागेको खुलेको ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीले जानकारी दिए । उनीहरूले आर्थिक अवस्था कमजोर भएका मानिसलाई प्रभावमा पारेर मृगौला बिक्री गर्न लगाउने प्रहरीको दाबी छ ।
त्यसका लागि उनीहरूले संगठित रूपमा नै तस्करीको र्याकेट चलाएको एसएसपी पंगेनीको दाबी छ । उनले भने, ‘‘हामीले उनीहरूमाथि संगठित अपराध मुद्दामा अनुसन्धान थालेका छौँ । प्रारम्भिक अनुसन्धानमा उनीहरूले सयौँ मनिसको मृगौला बिक्री गराएको देखिएको छ ।’’
नुवाकोट र काभ्रेलगायत आर्थिक अवस्था कमजोर भएका मानिसलाई भारत पुर्याएर मृगौला बिक्री गराएको तथ्य प्रहरीले फेला पारेको छ । मृगौला बिक्रीपछि रकम पाएकाहरू भने प्रहरीमा उजुरी नै दिन नआउने प्रहरीको भनाइ छ ।
हाल चारजनाले मृगौला बिक्रीपछि रकम नपाएको हुँदा प्रहरीमा उजुरी दिन पुगेका हुन् । कतिपय तस्करमा संलग्नहरूले नै मृगौला बिक्री गरेको समेत खुलेको छ । प्रहरीका अनुसार, हाल पक्राउ परेका समिर नेपाली आफैँले मृगौला बिक्री गरेको खुलेको छ ।












