कुवेतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ ।
कुवेतस्थित नेपाली राजदूतावासले आइतबारसम्म १२ जना नेपालीको मृत्यु भएको पुष्टि गरेको छ भने करिब ३० जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् ।
गत साता ‘मेथानोल’ नामक घातक रसायन मिसिएको अवैध मदिरा सेवनका कारण १६० जनाभन्दा बढी बिरामी परेका थिए ।
कुवेती स्वास्थ्य मन्त्रालयका अनुसार, यस घटनामा हालसम्म विभिन्न देशका २३ जना आप्रवासी कामदारको मृत्यु भएको छ भने १६० भन्दा बढी प्रभावित भएका छन् ।
रक्सी उत्पादन क्षेत्रमा प्रहरीको छापा, नेपाली नागरिकसहित ६७ जना पक्राउ
कुवेतको आन्तरिक मन्त्रालयले घटनापछि सञ्चालन गरेको व्यापक सुरक्षा अभियानमा मेथानोल उत्पादन तथा बिक्रीमा संलग्नलाई पक्राउ गरेको छ ।
कुवेतको गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, अवैध मदिरा उत्पादन र बिक्रीमा संलग्न ६७ जनालाई पक्राउ गरिएको छ, जसमा नेपाली नागरिक पनि सामेल छन् ।
अनुसन्धानका क्रममा सुरक्षा निकायले साल्मिया क्षेत्रबाट एक नेपालीलाई मेथानोलसहित पक्राउ गरेको जनाइएको छ । ति नेपालीको बयानका आधारमा अन्य नेपालीलाई समेत पक्राउ गरिएको थियो ।
यसका साथै भारतीय तथा एक जना बंगलादेशी नागरिकलाई समेत पक्राउ गरिएको छ । पक्राउ परेका मुख्य अभियुक्तहरूमाथि हत्याको अभियोग लाग्न सक्ने कुवेती सञ्चारमाध्यमले जनाएका छन् ।
अभियानका क्रममा सुरक्षा निकायले आवासीय र औद्योगिक क्षेत्रमा सञ्चालित ६ वटा अवैध मदिरा कारखाना पनि नियन्त्रणमा लिएको छ ।
उक्त घटनापछि सुरक्षा निकायले देशभर नै अवैध बसोबासका मुद्दाहरूमा संलग्न र अवैध मदिरा बनाउने कम्पनीहरूमाथि छापा मारेको हो । आवासीय र श्रम कानुन उल्लङ्घन गरेको आरोपमा सबै ६ वटा गभर्नरेटहरूमा २५८ व्यक्तिहरूलाई पक्राउ गरिएको थियो ।
म्याद सकिएको आवासीय अनुमतिपत्र, भिसा ओभरस्टे, फरार मुद्दा र अन्य कानुनी उल्लङ्घका मुद्दा समावेश छन् ।
यो अभियान प्रथम उपप्रधानमन्त्री र आन्तरिक मन्त्री शेख फहाद अल-युसेफ अल-सबाहको निर्देशनमा र नागरिकता तथा आवासीय क्षेत्रका प्रमुख ब्रिगेडियर जनरल फवाज अल–रौमीको निरीक्षणमा सञ्चालन गरिएको कुवेत टाइम्सले उल्लेख गरेको छ ।












