मेटाले नेपालमा फेसबुक कन्टेन्ट क्रिएटरका लागि कन्टेन्ट मनिटाइजेसन कार्यक्रम औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । कम्पनीले ईमेलमार्फत प्रयोगकर्तालाई यो सेवा आधिकारिक रूपमा नेपालमा सुरु भएको जानकारी दिन थालेको हो
यसले नेपाली कन्टेन्ट क्रियटरका लागि आम्दानीको नयाँ ढोका खोलेको छ । यस विषयमा प्रविधि क्षेत्रमा सक्रिय राजेन्द्र अर्यालले मेटा टिमसँग सम्पर्क गर्दा कम्पनीले नेपालमा फेसबुक कन्टेन्ट मनिटाइजेसन औपचारिक रूपमा सुरु भएको पुष्टि गरेको हो ।
मेटाले आफ्नो जवाफमा भनेको छ, “हो, नेपाली कन्टेन्ट क्रिएटरले फेसबुकको कन्टेन्ट मनिटाइजेसनबाट प्राप्त हुने रकमका लागि आफ्नो स्थानीय बैंक खाता प्रयोग गर्न सक्छन । किनभने मेटाले यो सुविधा आधिकारिक रूपमा सुरु गरेको छ र नेपाली बैंक खातामा सिधै भुक्तानी पठाउन थालेको छ ।”
यससँगै अब फेसबुकको मनिटाइजेसनका लागि योग्य भएका नेपाली प्रयोगकर्ताले आफ्नो कमाइ सिधै नेपालको बैंक खातामा प्राप्त गर्न सक्नेछन् । यसका लागि प्रयोगकर्ताले आफ्नो पेआउट अकाउन्ट सेटअप गर्दा देशमा ‘नेपाल’ छनोट गरी आफ्नो बैंक खाताको विवरण भर्नुपर्नेछ ।
“यसअघि पनि केही नेपाली फेसबुक कन्टेन्ट क्रिएटरले विभिन्न माध्यमबाट नेपाली बैंक खाता लिंक गरेर आम्दानी गर्दै आएका थिए,” अर्यालले भने, “तर अब कम्पनीले नै औपचारिक रूपमा यो सेवा सुरु गरेपछि प्रक्रिया निकै सजिलो र आधिकारिक भएको छ । अब ढुक्क भएर नेपाली बैंक खाता लिंक गरी आम्दानी गर्न सकिन्छ ।”
कन्टेन्ट मनिटाइजेसनभन्दा अगाडि फेसबुकले सीमित क्षेत्रका क्रियटरलाई तीन ओटा कार्यक्रम अन्तर्गत भुक्तानी दिने गरेको थियो । पहिलो( ‘इनस्ट्रिम एड्स’ । यो भनेको लामो भिडिओमा देखिने विज्ञापन हो । दोस्रो( ‘एड्स अन रिल्स’ । अर्थात् रिल्समा विज्ञापन देखाए वाफत भुक्तानी दिने । र, तेस्रो हो ( ‘पर्फमेन्स बोनस । यो भनेको भिडिओ, फोटो र टेक्स्ट पोस्टका आधारमा फेसबुकले बोनस मार्फत पठाउने रकम ।
३१ अगस्टदेखि मेटाले इनस्ट्रिम एड्स र एड्स अन रिल्सलाई सधाका लागि विस्थापित गरेको छ । अर्थात् यसअघि सुरु भएका तीन ओटै मनिटाइजेसन कार्यक्रम अब ‘फेसबुक कन्टेन्ट मनिटाइजेसन’ अन्तर्गत पर्नेछन् ।












