२०८२, २८ मंसिर शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोकर्णेश्वर नगरपालिका स्वास्थ्य सेवामा उत्कृष्ट घोषित



 काठमाडौँ जिल्लाका ११ स्थानीय तहमध्ये गोकर्णेश्वर नगरपालिकाको स्वास्थ्य सेवा सुविधा उत्कृष्ट घोषित भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षाका आधारमा गोकर्णेश्वर नगरपालिका उत्कृष्ट भएको हो ।

स्वास्थ्य सेवाको गुणस्तर, पहुँच र प्रभावकारिताको मूल्यांकनका आधारमा पालिकाले अग्रस्थान हासिल गरेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य सेवाको क्षेत्रमा प्राप्त उत्कृष्टता नगरवासीका लागि गर्वको विषय भएको नगर प्रमुख दीपक रिसालले बताए । उनले यो उत्कृष्टताले नगरवासीलाई अझ प्रभावकारी, सुलभ र गुणस्तरीय सेवा दिन प्रोत्साहन गर्ने बताए।

नगरपालिकाले गुणस्तरीय स्वास्थ्य सेवाका साथै नगरवासीको शारीरिक एवं मानसिक स्वास्थ्यका लागि जीवनशैली परिवर्तन र योगका कार्यक्रमलाईसमेत उच्च महत्त्व दिएको नगर प्रमुख रिसालले जानकारी दिए।

योग नगर घोषणा गरिएको गोकर्णेश्वर नगरपालिकाको विभिन्न ९ वटै वडामा गरी हाल ४५ वटा नियमित योग केन्द्र सञ्चालनमा रहेका छन् । गोकर्णेश्वर नगर अस्पतालमार्फत नगरपालिकामा स्थायी बसोबास गर्ने नागरिकका लागि नि:शुल्क स्वास्थ्य सेवा प्रदान गर्नुका साथै नेपाल मेडिकल कलेज, नेपाल अर्थोपेडिक अस्पताल र शंकरापुर अस्पतालबाट पनि उपचारमा छुटको व्यवस्था गरिएको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद उपाध्यायले जानकारी दिए ।

गत आर्थिक वर्षमा सम्पादित स्वास्थ्य कार्यक्रमको गहन मूल्यांकन पश्चात् तयार पारिएको नतिजाका आधारमा शङ्खरापुर नगरपालिका दोस्रो र टोखा नगरपालिका तेस्रो भएका जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०७९र८० को वार्षिक समीक्षामा पनि गोकर्णेश्वर प्रथम भएको थियो ।

प्रकाशित मिति : २०८२, २८ कार्तिक बिहीबार ००:००  १ : ०२ बजे