देशका धेरै स्थानमा भोलि (चैत २१)देखि फेरि वर्षाको पूर्वानुमान छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा हुन लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो प्रणालीको प्रभाव देशको पश्चिमी भूभागबाट देखिन सुरु हुनेछ । बिस्तारै देशैभरि प्रभाव पर्ने महाशाखाकी मौसमविद् विनु महर्जनले बताइन् ।
“पश्चिमी न्यूनचापीय प्रणालीको कारण हो । सँगसँगै स्थानीय वायु त भइहाल्छ प्रिमनसुनमा,” उनले भनिन् ।
उक्त प्रणाली देशमा भित्रिइसकेको उनले जानकारी दिइन् । पश्चिमका केही भूभागमा आज (चैत २०) पनि हल्का वर्षाको सम्भावना रहेको उनले बताइन् ।
“सिस्टम त आजबाट नै भित्रिइसकेको छ । आज रातिबाट नै अलिअलि पानीको सम्भावना, आज दिउँसोलाई पनि छ पश्चिममा त पानीको सम्भावना,” उनले भनिन् ।
प्रणालीको आंशिक प्रभाव भने आज बिहानदेखि नै देखिन थालेको उनले बताइन् । “त्यसको आंशिक प्रभाव देखिन थालिसकेको छ अहिले बिहानको समयदेखि नै,” उनले भनिन्, “अलि वर्षाचाहिँ भोलिबाटै सुरु हुन्छ, बेलुका/साँझबाट ।”
यसको प्रभाव भोलि पश्चिम नेपालका तीन प्रदेशमा बढी देखिने सम्भावना छ । “भोलिचाहिँ गण्डकी, कर्णाली र सुदूरपश्चिममा अलि बढी प्रभाव देखिनेछ, पर्सि (आइतबार) देशैभरि फैलिने हो,” मौसमविद् महर्जनले भनिन् ।
आइतबार (चैत २२) देशका धेरै स्थानमा वर्षा/हिमपातको सम्भावना छ । हावाहुरी, मेघगर्जन/चट्याङको पनि सम्भावना रहेको उनले बताइन् ।
“हिमाली भूभागमा मध्यम हिमपात, पहाडी भूभागतिरचाहिँ मध्यम वर्षाको सम्भावना हो पर्सिको लागि,” उनले भनिन्, धेरै हिमपात हुने त होइन, पहाडी र हिमाली भूभागमा मध्यमसम्म वर्षा हुने अनि हावाहुरी, मेघगर्जन/चट्याङ हुने सम्भावना छ ।”
आइतबार देशका पहाडी र हिमाली भूभागका सबै ठाउँमा यो प्रणालीको प्रभाव पर्ने उनले स्पष्ट पारिन् ।











