नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शुक्रबार (चैत २७) बिहानदेखि लागु हुने गरी पेट्रोल, डिजेल र ग्यासको मूल्य बढाएको हो ।
निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर १७ रुपैयाँ, डिजेल/मट्टीतेलमा प्रतिलिटर २५ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य बढाइएको छ । त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ ६ रुपैयाँ बढाइएको छ ।
मूल्य बढेसँगै पेट्रोलको मूल्य पहिलो वर्गमा २१६.५०, दोस्रो वर्गमा २१८ र तेस्रो वर्गमा २१९ पुगेको छ । त्यस्तै, डिजेल/मट्टीतेल पहिलो वर्गमा २०४.५०, दोस्रो वर्गमा २०६ र तेस्रो वर्गमा प्रतिलिटर २०७ रुपैयाँ पुगेको छ ।
निगमले चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जलाई पहिलो, सुर्खेत र दाङलाई दोस्रो र काठमाडौं, पोखरा र दीपायल डिपोलाई तेस्रो वर्गमा राखेको छ ।
त्यस्तै, खाना पकाउने ग्यासको मूल्य दुई हजार १० रुपैयाँ (१४.२ केजी), एक हजार पाँच (७.१ केजी) पुगेको छ । हवाई इन्धन आन्तरिकतर्फ २५७ रुपैयाँ पुगेको निगमले जानकारी दिएको छ ।











