“Environmental Service Week” को अवसरमा “Zero Waste Awareness Program” विहिवार (वैशाख १०) काठमाडौँमा सम्पन्न भएको छ।
कार्यक्रम Lions Club of Kathmandu का विभिन्न क्लबहरूको संयुक्त आयोजनामा तथा काठमाडौँ महानगरपालिका वडा नं. ७ को सहकार्यमा आयोजना गरिएको हो। कार्यक्रम मित्रपार्कस्थित वडा नं. ७ को परिसरमा दिउँसो २ बजे सुरु भएको थियो।

कार्यक्रममा फोहर व्यवस्थापन, पुनःप्रयोग, पुनर्चक्रण तथा वातावरण संरक्षणका विषयमा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न प्रस्तुतिहरू र अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएको थियो। सहभागीहरूले दैनिक जीवनमा शून्य फोहर अवधारणा अपनाउने तरिका, प्लास्टिकको प्रयोग घटाउने उपाय तथा दिगो जीवनशैलीबारे जानकारी लिएका थिए।
कार्यक्रमका क्रममा वक्ताहरूले समुदाय स्तरमै सचेतना फैलाउन सकेमा काठमाडौँ महानगरलाई सफा, हरित र दिगो सहरका रूपमा विकास गर्न सकिने धारणा व्यक्त गरेका थिए।

यस सम्बन्धमा जानकारी दिँदै वडा नं. ७ का वडा अध्यक्ष बिमल कुमार होडा ले वातावरण संरक्षण आजको अपरिहार्य आवश्यकता भएकाले यस्ता कार्यक्रमहरू निरन्तर दिने बताउनु भयो । उहाँले स्थानीय तह, सामाजिक संघसंस्था र नागरिकबीच सहकार्य भएमा फोहर व्यवस्थापन प्रभावकारी हुने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा स्थानीय बासिन्दा, विद्यार्थी, सामाजिक अभियन्ता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। आयोजकले आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।











